close

जर्जियाबाट नेपाली नम्बरमा फोन, के हो त वास्तविकता ?

टेकपाना टेकपाना

असार १६, २०७९ १३:२२

जर्जियाबाट नेपाली नम्बरमा फोन, के हो त वास्तविकता ?

काठमाडौं । अहिले नेपाली दूरसञ्चार सेवा प्रदायकले उपलब्ध गराउने केही मोबाइल नम्बरमा जर्जियाबाट कल आएको पाइएको छ । +९९५ अर्थात् जर्जियाको कन्ट्री कोडबाट आउने यस्तो कलको विषयमा केही दिनदेखि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

यो नम्बरबाट कल आउँदा प्रयोगकर्ता त्रसितसमेत भएका छन् । कल उठाए फोन नै ह्याक हुन्छ भन्ने डर सामाजिक सञ्जालमा फैलिरहेको छ । केही प्रयोगकर्ताले फ्रान्सको कन्ट्री कोड +३३ भएको नम्बरबाट समेत कल आएको बताएका छन् ।

केही वर्षअघि रातो नम्बरबाट फोन आए ज्यान जानसक्ने, स्वास्थ्यलाई खराबी हुने, मोबाइल पड्किनसक्ने भन्दै त्रास फैलाइएको थियो ।

के साँच्चै त्यस्ता नम्बरबाट आएको कल उठाउँदा डर हुन्छ त ? फोन ह्याक हुने वा अन्य जोखिम हुन्छ त ? कसरी हाम्रो फोन नम्बरमा कल आइरहेको छ ? कतै हाम्रो फोन नम्बर लिक भइरहेको त छैन ? यस्ता प्रश्न उठ्नु स्वाभाविक पनि हो ।

वास्तवमा कल उठाउँदा फोन र अकाउन्ट ह्याक हुने वा अन्य डर हुनसक्ने कुरा भ्रममात्रै भएको साइबर सुरक्षा अनुसन्धानकर्मी नरेश लाम्गादे बताउँछन् ।

‘फोनमा आएको कल उठाउँदा फोन ह्याक वा डेटा चोरी हुनु असम्भव जस्तै हो । फोन उठाउँदैमा डेटा चोरी हुँदैन । बरू उनीहरूले भनेको निर्देशन मान्न थालियो भने ह्याक हुनसक्ने सम्भावना धेरै हुन्छ ।’

यदि उनीहरूले दिएको निर्देशन मान्न थालियाे भने चाहिँ फोन ह्याकसम्म हुनसक्ने उनको भनाइ छ ।

‘उनीहरूले विभिन्न प्रलोभन देखाएर आफ्नो एप वा वेबसाइटमा लगइन गर्न आग्रह गर्छन् । उनीहरूको आग्रह मान्न थाल्यो भने चाहिँ तपाईंको डेटा चोरी हुनसक्छ,’ लाम्गादेले भने, ‘उनीहरूले आफ्नो विज्ञापनका लागि अथवा प्रयोगकर्तालाई आफ्नो वेबसाइटमा लगी डेटा चोर्ने उद्देश्यले र्‍यान्डम नम्बरमा कल गर्ने गर्छन् ।’

फोनको ब्यालेन्स सक्काउने उद्देश्यले पनि त्यस्ता कल आउने उनी बताउँछन् ।

‘उनीहरूले तपाईंलाई लगातार कल/मिस्डकल गरी महत्त्वपूर्ण फोन हो भन्ने भ्रम पार्नसक्छन् । उदाहरणका लागि दुई वा तीनपटक कल गरेर पछि मेसेजमा फोन गर्न आग्रह गर्छन् । त्यसपछि उनीहरूलाई विश्वास गरेर कल गर्नुभयो भने तपाईंको सिममा भएको ब्यालेन्स सकिन्छ,’ उनले भने ।

यो विषयमा टेकपानासँग कुरा गर्दै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने, ‘हालसम्म कुनै पनि सेवाग्राहीले त्यस्तो नम्बरबाट कल आएर समस्या भयो भनेर गुनासो गरेका छैनन् । सामाजिक सञ्जालमा फैलाइएका कुरा भ्रम हुन् । पहिले पनि त्यस्ता नम्बरबाट कल आएको भन्ने गुनासो आउँथ्यो । तर फोन उठाएरै समस्या भयो भनेर गुनासो आएको छैन ।’

‘अन्तर्राष्ट्रिय नम्बरबाट आएको कल उठाउँदा फोन नै ह्याक हुन्छ भन्ने हुँदैन,’ राेयले स्पष्ट पारे । विशेषगरी आफ्नो सामग्री प्रचारप्रसारका लागि नम्बर मिलाएर यस्तो कल गरेको हुनसक्ने उनको अनुमान छ ।

‘कतिपय घटनामा यस्ता नम्बरबाट कल गरेर चिट्ठा परेको भन्ने झुटो खबर दिइन्छ । यदि विश्वास मानेर उनीहरूको निर्देशन मान्न थालियो भने स्क्याममा पर्ने जोखिम हुन्छ,’ उनले भने ।

यता दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले पनि यस विषयबारे आफूहरूलाई गुनासो नआएको प्रतिक्रिया दिए ।

‘गुनासो आएको छैन । तर यस्ता नम्बरबाट आउने फोनबाट सतर्क रहन भने आवश्यक छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३