close

विद्युत तार भूमिगत पारेसँगै पोल पनि हटाइँदै, अब कहाँबाट दिने इन्टरनेट सेवा ?

टेकपाना टेकपाना

असार १७, २०७९ १८:२

विद्युत तार भूमिगत पारेसँगै पोल पनि हटाइँदै, अब कहाँबाट दिने इन्टरनेट सेवा ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुलीका तार भूमिगत गर्ने कामलाई तीव्रता दिएको छ । काठमाडौं उपत्यकाका तारहरू भूमिगत गर्ने कार्य भइरहेको र यसले निकट भविष्यमा इन्टरनेट सेवाप्रदायकलाई समस्या पर्न सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । 

टेकपानाले शुक्रबार होटेल र्‍याडिसनमा आयोजना गरेको ‘इन्टरनेट सेवा विस्तारमा विद्युतीय पूर्वाधारको योगदान र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै घिसिङले काठमाडौंका असरल्ल तारलाई व्यवस्थापन गर्न पोल हटाएर अबको डेढ वर्षमा तार भूमिगत गर्ने कार्य सम्पन्न गरिने बताए ।

“काठमाडौंमा भएका सबै विद्युतीय पोलहरू हटाउने भनेर हामी लागिरहेका छौँ,” उनले भने, “तारहरू भूमिगत भएपछि अबको एक/डेढ वर्ष अथवा अबको छ महिनामै पनि इन्टरनेट सेवा प्रदायकहरूलाई समस्या आउन सक्छ । पोल नै नभएपछि इन्टरनेट सेवा प्रदायकलाई आफ्ना तार व्यवस्थापन गर्न समस्या पर्नसक्छ ।”

यद्यपि यो विषयलाई ध्यानमा राख्दै प्राधिकरणले तार भूमिगत गर्दा अप्टिकल फाइबरका लागि डक्ट समेत राखिएको जानकारी घिसिङले दिए । प्राधिकरणले तीन ओटा डक्ट राखेको र एउटा डक्टमा ४८ कोरको फाइबर पनिसँगै राखिएको उनले बताए ।

“भोलिको दिनमा आवश्यकता अनुसार त्यसलाई प्रयोग गर्न सकिन्छ भनेर हामीले फाइबर पनि बिच्छ्याएका छौँ । यसलाई कसरी प्रयोग गर्न सकिन्छ अथवा यसको लागि आवश्यक संरचना विकासका लागि पनि सरोकारवालाहरू बसेर छलफल गर्न आवश्यक छ,” उनले भने ।     

साथै सरकारको डिजिटल नेपालको लक्ष्यलाई हासिल गर्न इन्टरनेट सेवा प्रदायक र सरकारी निकायहरू मिलेर अगाडि बढ्नुपर्ने कुरामा उनले जोड दिए । इन्टरनेट सेवा विस्तारको काममा सरकारी निकाय र निजी क्षेत्रबीच एकअर्कालाई दोष दिने काम धेरै भएको उल्लेख गर्दै घिसिङले अब छलफल गरेर अगाडि बढ्नुपर्ने उनको भनाई  थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३