काठमाडौं । ल्यापटप तथा कम्प्युटरको अपरेटिङ सिस्टममा माइक्रोसफ्ट विन्डोज र एप्पलको म्याक ओएसले एकक्षत्र राज गर्दै आएका छन् । हुन त बजारमा लिनक्स पनि छ । तर, यसको बजार हिस्सा शून्य सरह नै छ । त्यो हुँदा विश्वमा धेरैले विन्डोज र म्याक ओएस नै प्रयोग गर्छन् । यो अवस्था चिनमा पनि कायम छ ।
पछिल्लो तथ्याङ्क अनुसार चिनमा म्याक ओएसको बजार हिस्सा १५ प्रतिशत छ भने, विन्डोजको बजार हिस्सा ८५ प्रतिशत रहेको छ । अझ पछिल्लो सयमा म्याक ओएस प्रयोग गर्नेको सङ्ख्यामा ठुलो मात्रामा बढी रहेको जनाइएको छ । यो तथ्याङ्क चीनका लागि भने त्यति फलदायी छैन ।
चीन पछिल्लो समय अमेरिकासँग प्रविधिमा रहेको निर्भरतालाई कम गर्ने तयारीमा रहेको छ । यस्तोमा चीन सरकारका लागि विन्डोज र म्याक ओएसको विकल्प खोज्न निकै मुस्किल हुने देखिन्छ । तर, पनि चिनले भने विन्डोज र म्याक ओएसको विकल्पमा आफ्नै ओएस तयार गरिसकेको छ ।
‘काइल्यान’ नामक ओएस नयाँ भने होइन् । सन् २०११ मा चीनको नेशनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीले निर्माण गरेको यो ओएस हाल आर्मीले प्रयोग गर्दै आएको छ । तर, अब भने चीन सरकारले यसलाई सामान्य प्रयोगकर्तालाई समेत उपलब्ध गराउने तयारी गरको उल्लेख छ । त्यसका लागि काइल्यानको ओपन–सोर्समा काम भइरहेको उल्लेख छ ।
यसको जिम्मा सरकारको लगानी रहेको चीनियाँ इलेक्ट्रोनिक्स कर्पले लिएको छ । कम्पनीले विभिन्न संस्थाहरूसँग सहकार्य गरी ओपन–सोर्स निर्माणमा काम गरी रहेको उल्लेख छ ।