close

अब गर्भपतन गराउन जाँदाको ‘लोकेसन हिस्ट्री’ गुगलले नै मेटाइदिने 

टेकपाना टेकपाना

असार २१, २०७९ २१:२६

अब गर्भपतन गराउन जाँदाको ‘लोकेसन हिस्ट्री’ गुगलले नै मेटाइदिने 

काठमाडौं । गुगलले गर्भपतन क्लिनिक र घरेलु हिंसा सेल्टरमा जाँदाको लोकेसन लग पत्ता लाग्ने बित्तिकै स्वतः मेटाउने बताएको छ । कम्पनीको ब्लग पोस्टमा गुगलका कोर सिस्टम एन्ड एक्सपिरियन्सका वरिष्ठ उपाध्यक्ष फिजप्याट्रिकले भनेका छन् कि यो परिवर्तन आउँदा केही सातामा रोलआउट हुनेछ ।

संयुक्त राज्य अमेरिकामा कानुनी गर्भपतनको अधिकारलाई प्रत्याभूत गर्ने रो भी वेडको निर्णयलाई उल्टिएसँगै सर्च हिस्ट्री, मेडिकल ट्र्याकिङ एप तथा जीपीएस डेटा र अन्य प्रविधिमार्फत डेटा संकलन हुनसक्ने र ती डेटा अभियोगमा प्रयोग हुन सक्ने चिन्ता छाएको छ ।

फिजप्याट्रिकका अनुसार प्रयोगकर्तालाई गोपनीयता नियन्त्रणसम्बन्धी थुप्रै विकल्प दिइएको भए पनि प्रविधिको दिग्गज कम्पनीले केही डेटासेट भने स्वतः मेटिने कुराको सुनिश्चितता गर्न खोजिएको हो ।

“यस्ता विषयहरू स्वास्थ्य सेवाप्रदायक, दूरसञ्चार कम्पनी, बैंक, प्रविधि प्लेटफर्म लगायतमा पनि लागू हुन्छन् भन्ने थाहा भए पनि गोपनीयता रक्षाको कुरा कुनै निश्चित कम्पनी वा राज्यको जिम्मेवारी मात्र हुन सक्दैन,” गुगलका ती अधिकारीले भनेका छन् ।

तपाईँको गुगल अकाउन्टको लोकेसन हिस्ट्री डिफल्ट रुपमा बन्द हुन्छ । तर केही प्रयोगकर्ताहरूले यसलाई व्यक्ति केन्द्रित सुझाव प्राप्त गर्नका लागि उपयोगी ठान्न सक्छन् ।

जेसुकै भए पनि यदि लोकेसन हिस्ट्री सक्रिय छ र प्रयोगकर्ताले संवेदनशिल क्षेत्रको भ्रमण गरेको छ भने अब गुगलले त्यस्ता लग स्वचालित तवरमा डिलिट गरिदिनेछ । उदाहरणको लागि स्वास्थ्य सुविधा, परामर्श केन्द्र, घरेलु हिंसा सेल्टर, गर्भपतन तथा प्रजनन क्लिनिक अथवा लागूपदार्थ दुर्व्यसनी उपचार केन्द्रहरूमा जाँदा कम्पनीको सिस्टमले पत्ता लगाउँछ ।

यस्तो अवस्थामा, फिजप्याट्रिक भन्छन्, “प्रयोगकर्ता यस्ता स्थानमा गए लगत्तै त्यस्ता समग्र लोकेसन हिस्ट्री तत्काल डिलिट गर्नेछौँ ।”

पिरियड अर्थात महिनावारी ट्र्याकिङ एप तथा सफ्टवेयरहरू पनि चासोको विषय बनेका छन् । त्यस्तो अवस्थामा गुगल फिट र फिटबिटमा रहने महिनाबारी ट्र्याकरको लग रेकर्ड हुने बित्तिकै डिलिट हुनेछन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३