close

विद्युतीय गाडीको ब्याट्री बनाउन २६ खर्ब लगानी गर्ने भक्सवागनको घोषणा

टेकपाना टेकपाना

असार २४, २०७९ ७:५९

विद्युतीय गाडीको ब्याट्री बनाउन २६ खर्ब लगानी गर्ने भक्सवागनको घोषणा

काठमाडौं । जर्मन गाडी निर्माता कम्पनी भक्सवागनले विद्युतीय सवारीका लागि ब्याट्री बनाउन करिब २० अर्ब ३८ करोड अमेरिकी डलर (करिब २५ खर्ब ७६ अर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ । जसबाट २० हजार रोजगारी सिर्जना हुने र कम्पनीको वार्षिक बिक्री २० अर्ब ३८ करोड अमेरिकी डलर कायम गर्ने बताइएको छ ।

द भर्जका अनुसार कार निर्माता कम्पनी भक्सवागनले पावर को नामक नयाँ कम्पनी तयार पार्नेछ । जसले पर्याप्त क्षमता, सरसामग्री र कम्पनीको विद्युतीय सवारीको महत्वाकाङ्क्षाको प्रतिस्पर्धी लक्ष्यका लागि काम गर्नेछ ।

पावर कोले भक्सवागनको समग्री ब्याट्री आपूर्ति शृङ्खला व्यवस्थापनका साथै ब्याट्रीको नयाँ प्रविधिमा अनुसन्धान र विकासको काम समेत गर्नेछ । जर्मनीको लोअर स्याक्सोनी स्थित साल्जगिटरमा कम्पनीको पहिलो ब्याट्री प्लान्टको शिलान्याशका क्रममा कम्पनीको यस्तो घोषणा आएको हो ।

गत वर्ष भक्सवागनले सन् २०३० सम्ममा साल्जगिटर र स्विडेनको स्केलफेट सहित युरोपमा ६ ओटा ब्याट्री सेल उत्पादन गर्ने प्लान्ट निर्माण गर्ने योजनाको खुलासा गरेको थियो । तेस्रो प्लान्ट स्पेनको भ्यालेन्सिया र चौथो कारखाना पूर्वी युरोपमा रहनेछ ।

यसका साथै कम्पनीले उत्तर अमेरिकामा भविष्यको गिगाफ्याक्ट्री बनाउने प्रयासमा समेत जुटेको छ । यी सबै प्लान्टको वार्षिक उत्पादन क्षमता २४० गिगावाट आवर हुनेछ ।

सन् २०२३ सुरुवातमा कम्पनीले आफ्नो ब्याट्रीको एकीकृत प्रिज्म्याटिक डिजाइन रोलआउट गर्नेछ, जुन कार निर्माता ब्रान्डहरूमा जडान गरिन्छ । सन् २०३० सम्म कम्पनीका ८० प्रतिशत विद्युतीय सवारीलाई यो एकीकृत सेल डिजाइन राख्ने लक्ष्य लिइएको छ ।

यसका साथै भक्सवागनले अन्य दुई मुख्य ब्याट्री उत्पादक कम्पनी सामसङ र क्याटलसँग समेत सम्झौता गरेको छ । त्यसैगरी भक्सवागनले क्यालिफोर्नियाको सान जोसमा रहेको ब्याट्री स्टार्टअप कम्पनी क्वान्टम स्केपमा समेत लगानी गरेको छ, जसले थप ऊर्जा प्रभावकारी सोलिड-स्टेट ब्याट्रीका लागि काम गरिरहेको छ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३