काठमाडौं । कहिलेकाहीँ क्रोममा काम गर्दागर्दै भुलवश तपाईंले प्रयोग गरिरहेको ट्याब बन्द भयो भने के गर्नुहुन्छ ? पक्कै पनि क्रोमको हिस्ट्रीमा गएर उक्त ट्याबलाई रिकभर गर्नुहुन्छ होला । अथवा यो प्रक्रिया यदि तपाईंलाई थाहा छैन भने पुन: त्यही साइटको एड्रेस टाइप गरेर सुरु गर्नुहुन्छ होला ।
तर आफूले अघि चलाइरहेकै अवस्थामा उक्त साइट नखुल्नसक्छ । वास्तवमा क्रोम ब्राउजरमा यसरी भर्खरै बन्द भएको ट्याब फेरि खोल्ने विभिन्न स्मार्ट तरिका छन् ।
किबोर्डको शर्टकट की प्रयोग गर्नुहोस्
भर्खरै बन्द भएको ट्याबलाई फेरि पुरानै अवस्थाबाट ओपन गर्नका लागि केही शर्टकर्ट कीहरू प्रयोग गर्न सक्छौं । यसको सबैभन्दा सजिलो की हो ‘ctrl+shift+T’ ।
यो की प्रयोग गरेर भर्खरै बन्द भएको ट्याब ओपन गर्न सकिन्छ । यो की अन्य ल्यापटपहरू लगायत म्याकमा पनि प्रयोग गर्न सकिन्छ ।
म्याकका लागि भने ‘cmd+shift+t’ प्रयोग गर्नुपर्छ । यदि कुनै एक ट्याब नभएर पुरै ब्राउजर नै ओपन गर्नुपर्यो भने नयाँ क्रोम विन्डो ओपन गरेर उक्त की प्रयोग गर्दा सम्पूर्ण बन्द भएका ट्याब ओपन हुन्छन् ।
ब्राउजरको ‘हिस्ट्री’ प्रयोग गर्नुहोस्
धेरैजसो प्रयोगकर्ताले बन्द भएको ट्याब खोल्नको लागि ब्राउजरको हिस्ट्री प्रयोग गर्ने गर्छन् । यसको एउटा फाइदा भनेको प्रयोगकर्ताले हालै बन्द गरेको ट्याब मात्र नभएर पहिले चलाएका पुराना ट्याबहरू पनि फेरि खोल्न सकिन्छ ।
यसका लागि क्रोम ओपन गरेर स्क्रिनको माथि दाहिनेतिर भएको तीनवटा धर्का भएको आइकनमा क्लिक गर्नुहोस् र हिस्ट्रीमा क्लिक गर्नुहोस् । अथवा तपाईंले सिधैँ ‘ctrl+H’ थिचेर पनि पहिले प्रयोग गरेका ट्याब रिकभर गर्न सक्नुहुन्छ ।
सर्च ट्याब प्रयोग गर्नुहोस्
बन्द भएका ट्याब खोल्ने अर्को उपाय भनेको सर्च ट्याबको प्रयोग हो । यसका लागि क्रोम विन्डोको सबैभन्दा माथि दाहिनेतिर मिनिमाइज (-) को आइकनको छेउमा तलिर फर्किएको एरो देख्न सक्नुहुन्छ ।
उक्त आईकनमा क्लिक गरेपछि तपाईंले प्रयोग गरेको पुरानो ट्याबहरू देखिन्छ भने सबैभन्दा माथि सर्च ट्याब भनेर एउटा बक्स पनि देख्न सकिन्छ । देखाइएका ट्याबहरूमा क्लिक गरेर अथवा सर्च ट्याबमा आफूले प्रयोग गरेको साइट टाइप गरेर पनि बन्द भएको ट्याब खोल्न सक्नुहुन्छ ।
टास्कबार प्रयोग गर्नुहोस्
यदि तपाईंले प्रयोग गरी रहनुभएको ब्राउजर तपाईंको पीसीको टास्कबारमा पिन गर्नुभएको छ भने भर्खरै बन्द भएका अथवा एकदमै धेरै प्रयोग भएका ट्याबहरू सहजै भेटाउन सकिन्छ ।
यसका लागि पिन भएको ब्राउजर आइकनमा राइट क्लिक गर्नुहोस्, जहाँ तपाईंले सुरुमा ‘माेस्ट भिजिटेड’ र त्यसपछि ‘रिसेन्ट्ली क्लोज्ड’ अप्सनहरू भेट्नुहुनेछ, जहाँ बन्द भएका पुराना ट्याबहरू भेट्टाउन सक्नुहुन्छ ।