काठमाडौं । गत हप्ता क्यानाडामा मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी रोजर्सको सेवा झन्डै १५ घण्टा अवरुद्ध भयो । जसको असर स्वरूप देशव्यापी रुपमा रहेका दशौँ लाख प्रयोगकर्ताले समस्या भोग्नुपर्यो ।
उक्त घटनालाई लिएर कम्पनीले आफ्ना ग्राहकलाई क्षतिपूर्ति दिने भएको छ । १५ घण्टाभन्दा बढी कम्पनीको सेवा बन्द हुँदा यातायात, बैङ्किङ तथा अन्य अत्यावश्यक सेवाहरू प्रभावित भएका थिए ।
यस्तोमा रोजर्सले एक विज्ञप्ति जारी गर्दै प्रयोगकर्तालाई क्षतिपूर्ति स्वरूप पाँच दिन बराबरको सेवा उपलब्ध गराउने बताएको हो । अर्कोतर्फ नियामकले कम्पनीलाई किन र कसरी सेवा अवरुद्ध भयो भन्ने कुराको विवरण दिन निर्देशन दिएको छ ।
रोजर्स क्यानडाको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हो । जसका १ करोड १० लाख बढी ग्राहक रहेका छन् । क्यानडाका उद्योगमन्त्री फ्रान्कोइस-फिलिप स्याम्पेनले सोमबार एक ट्वीट गर्दै राष्ट्रव्यापी रूपमा दूरसञ्चार सेवा प्रभावित हुनु अस्वीकार्य भएको बताएका थिए ।
त्यस्तै उनले देशका ठूला दूरसञ्चार कम्पनीका प्रमुखलाई भेला गराएर नेटवर्कमा विश्वसनीय स्तरमा सुधार गर्न र रोजर्सलाई कारबाही गर्न समेत आग्रह गरेका थिए । रोजर्सको सेवा बन्द हुँदा क्यानडाका नागरिक र व्यवसाय त प्रभावित भएकै थिए, सँगसँगै ९११ जस्तो आपतकालीन सेवा समेत बन्द हुन पुगेको थियो ।
यसरी विभिन्न सेवा प्रभावित हुने गरी सेवा अवरुद्ध भएको विषयलाई लिएर कम्पनीले थप पाँच दिनका लागि सेवा उपलब्ध गराएर आफ्नो दायित्व पूरा गर्नेछ । रोजर्सको कदमलाई धेरैले स्वागत गरेका छन् । साथै यो घटनाबाट धेरैले सिक्नुपर्ने बताइएकाे छ । यो सन्दर्भ नेपाली सेवाप्रदायक र नियामकका लागि पनि एउटा सिकाइको विषय बन्न सक्छ ।