close

सस्तो मूल्यमा बाइडुले ल्यायो स्टेयरिङ ह्वील बिनै कुद्ने रोबोट्याक्सी

टेकपाना टेकपाना

साउन ६, २०७९ १४:५०

सस्तो मूल्यमा बाइडुले ल्यायो स्टेयरिङ ह्वील बिनै कुद्ने रोबोट्याक्सी

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी बाइडुले नयाँ विद्युतीय राेबाेट्याक्सी सार्वजनिक गरेकाे छ । हालै चिनियाँ बजारका लागि कम्पनीले ‘एपोलो आरटी ६’ नामकाे राेबाेट्याक्सी सार्वजनिक गरेकाे हाे ।

याे राेबाेट्याक्सीमा यात्रुहरूलाई पर्याप्त ठाउँ प्रदान गर्न डिट्याचेबल अर्थात् अलग गर्न मिल्ने स्टेयरिङ ह्वील दिइएकाे छ । त्यस्तै अघिल्लाे संस्करणकाे राेबाेट्याक्सीकाे तुलनामा यसकाे मूल्य करिब ५० प्रतिशतले कम रहेकाे कम्पनीले जनाएकाे छ ।

चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार याे राेबाेट्याक्सीकाे मूल्य दुई लाख ५० हजार यूआन अर्थात् लगभग ४७ लाख नेपाली रूपैयाँ तोकिएको छ ।

कम्पनीले चिनियाँ सडकमा आउँदो वर्ष २०२३ देखि यो मोडलको रोबोट्याक्सी गुड्ने जानकारी दिएको छ । त्यतिबेलासम्म एक लाख बढी गाडी उत्पादन गर्ने कम्पनीकाे लक्ष्य छ ।

यस गाडीमा विभिन्न ३८ सेन्सर समावेश छन्, जसमा ८ ओटा लाइट-डिटेक्सन र लाइडर (lidar Sensor) सेन्सर, एउटा ६ एमएमको वेब र्‍याडर, १२ ओटा अल्ट्रासोनिक सेन्सर र बाँकी १२ ओटा क्यामेरा सेन्सर छन् ।

बाइडुले परीक्षणका लागि चीनका विभिन्न १० सहरका सडकमा याे राेबाेट्याक्सी गुडिरहेकाे जानकारी दिएकाे छ, जसमध्ये बेइजिङ, साङ्घाई, शेन्जिनलगायतका सहर छन् ।

चीनमा रोबोट्याक्सी सेवा सञ्चालन गर्ने अन्य विभिन्न कम्पनी पनि छन् । अलिबाबाको अटोएक्सका साथै गुगल र बाइडुका पूर्व इन्जिनियरले स्थापना गरेको पोनी एआईले पनि याे सेवा दिइरहेका छन् ।

बाइडुले गत वर्षकाे नाेभेम्बर महिनादेखि बेइजिङका केही स्थानबाट स्वचालित राेबाेट्याक्सी सेवा सुरू गरेकाे थियाे । सुरक्षाको हिसाबले अहिले पनि मान्छेहरूले नै गाडी चलाउनु सुरक्षित हुन्छ भन्ने विषय उठिरहेका बेला बाइडुले भने आफ्नो स्वचालित सवारी बजार विस्तार गरिरहेकाे छ ।

स्वचालित ट्याक्सी बुक गर्नका लागि यात्रुले ‘एपोलो गो’ मोबाइल एपमार्फत ट्याक्सी बुक गर्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३