close

जीबीएस टिमको आयोजनामा आज रोबोटिक्स प्रतिस्पर्धा हुँदै

टेकपाना टेकपाना

साउन ७, २०७९ ९:४०

जीबीएस टिमको आयोजनामा आज रोबोटिक्स प्रतिस्पर्धा हुँदै

काठमाडौं । आज राजधानीको टेक्सास इन्टरनेसनल कलेज, मित्रपार्कमा फस्ट पर्सन भ्यू (एफपीभी) मा आधारित रोबोटिक्स प्रतिस्पर्धा हुँदैछ । याे एफपीभी ग्राउन्ड रेस प्रतियोगितामा कुल १५ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

जीबीएस टिमको मुख्य आयोजना एवं टेक्सास एजुकेसन नेटवर्कको सह-आयोजनामा हुन लागेको प्रतियोगिताको विषय (थिम) सर्भिलेन्स एन्ड रेस्क्यु (निगरानी र उद्धार) रहेको छ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हरेक टिमले एफपीभी क्यामेरा प्रयोग गरी निगरानी र पीडितको पहिचानपछि पीडितलाई खाना र औषधि उपलब्ध गराउनुपर्ने छ ।

हरेक टिममा कम्तिमा चार सदस्य हुनुपर्ने नियम राखिएको छ ।

प्रतियोगिता जित्ने पहिलो टिमले २५ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ । त्यस्तै दोस्रो स्थान ल्याउने टिमले १० हजार रूपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ ।

साथै विजेता र उपविजेता टोलीबाहेक सहभागीहरुलाई रिडेम्पसनको दोस्रो मौका दिइने आयोजकले जनाएको छ । जसअन्तर्गत सहभागी टिमले पाँच हजार रुपैयाँ जित्न सक्नेछन् ।

यस प्रतियोगिताका लागि रोबोटहरुले विभिन्न भू-भागहरु र कठिनाइहरु जस्तै ग्राभेल सडक, बलौटे बाटो, पानी, सुरुङ आदि पार गर्न सक्षम हुनुपर्ने बताइएको छ ।

‘टनेल जस्ता अँध्यारो ठाउँहरूलाई सम्बोधन गर्दा दृष्टिका लागि उचित प्रकाशनको सुविधा हुनुपर्छ । प्रत्यक्ष प्यारामिटरहरुमा वास्तविक समयमा रोबोट ड्राइभ गर्दा यसले बाटोमा भएको केही डेटा प्रयोग गरेर डेटाको मद्दतले मार्ग फेला सक्षम हुनुपर्छ । तसर्थ अपरेटरले त्यो कार्यलाई पनि ध्यानपूर्वक विचार गर्नुपर्छ,’ आयोजक प्रतिनिध ई. यज्ञप्रसाद देवकोटाले भने ।

जीबीएस टिम ई. गणेश विक्रम सिंह आले र ई. यज्ञप्रसाद देवकोटाले स्थापना गरेको प्राविधि उत्साही व्यक्तिहरुको समूह हो । यो टिमले तयार पारेको बम डिस्पोजन रोबोट नेपाली सेनाले प्रयोग गर्दै आएको छ । साथै यो टिमले रोबोटिक्स, आईओटी, अटोमेसन लगायतका क्षेत्रमा अनुसन्धान एवं विकासको काम गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३