काठमाडौं । अनलाइनमै बेरोजगारले रोजगार र रोजगारदाताले कर्मचारी खोज्न सकिने माध्यम मेरो जब पब्लिक लिमिटेड कम्पनी बनेको छ । यससँगै अब कम्पनीले एनआईसी एसिया क्यापिटलसँगको सहकार्यमा आईपीओ जारी गर्ने योजना समेत सार्वजनिक गरेको छ ।
एनआईसी एसिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । सोही सेवा अन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवा सहित मेरो जब लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्याइने बताइएको छ ।
यसरी निकट भविष्यमा सर्वसाधारणहरूमा जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासनका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता समेत सम्पन्न भएको छ । यससँगै मेरो जब नेपालको सन्दर्भ सर्वसाधारणमा आईपीओ जारी गर्ने यसप्रकारको पहिलो कम्पनी बन्नेछ ।
शिक्षित तथा अनुभवी व्यक्तिहरू, जो आफ्नो योग्यता तथा क्षमता अनुसारको काम खोजिरहेका हुन्छन्, त्यस्तै विभिन्न रोजगारदाताहरू, जसलाई उपयुक्त कर्मचारी आवश्यक हुन्छ, दुवैलाई आपसमा जोड्ने काम मेरो जबले गर्दै आएको छ । सन् २००९ मा मेरो जब डटकम प्रालिको रुपमा स्थापना भएको यो कम्पनी हालैमात्र पब्लिक लिमिटेडमा रूपान्तरित भएको हो ।
मेरो जब लिमिटेडको वेबसाइटमा करिब १० लाख काम खोजिरहेका व्यक्तिहरू दर्ता भइसकेका छन् भने करिब ४० हजार रोजगारदाताले मानव संसाधन व्यवस्थापन सेवाहरू लिँदै आइरहेका छन् । यसका साथै मेरो जब लिमिटेडले वर्षेनी एक हजारभन्दा बढी क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत विभिन्न शीर्षकमा तालिमहरू समेत प्रदान गर्दै आएको छ ।
मेरो जब लिमिटेडले आगामी दिनमा आफ्नो मानव संसाधन व्यवस्थापन सम्बन्धी अन्य सेवाहरू प्रविधिको प्रयोग गरी काम खोज्ने व्यक्ति तथा रोजगारदाताले कम्पनीको आवश्यकता अनुरूपको कर्मचारी प्राप्त गर्ने पुलको भूमिका निर्वाह गर्ने योजना बनाएको छ । यसरी मानव संसाधन व्यवस्थापनमा नेपालकै पहिलो रोजाईको कम्पनीको रुपमा स्थापना गर्ने मेरो जबको लक्ष्य छ ।