close

बीचैमा हाई स्कुल छोडेका युवा, जसले खडा गरे १३ अर्ब मूल्यको स्टार्टअप 

टेकपाना टेकपाना

साउन ८, २०७९ २०:६

बीचैमा हाई स्कुल छोडेका युवा, जसले खडा गरे १३ अर्ब मूल्यको स्टार्टअप 

काठमाडौं । हामी मध्ये धेरै जना आफ्नो रुचिको विषय छाडेर अन्य क्षेत्रतिर नै अभ्यस्त हुन खोजिरहेका हुन्छौँ । यसले कालान्तरमा हाम्रो रुचिलाई नै सदाका लागि अन्त्य गरिदिन्छ ।

तर समय छँदै हामी आफ्नो रुचिको क्षेत्रमा फर्कियौँ भने सफलताको शिखर चुम्न सक्छौँ । यसको एउटा राम्रो उदाहरण हुन् ३२ वर्षीय जोस फाबियन । उनी एक कम्प्युटर प्रोग्रामर थिए ।

तर उनको रुचि गेम खेल्नुमा थियो । यही रुचिलाई पछ्याएर आज  उनले साढे दश करोड अमेरिकी डलर (करिब साढे १३ अर्ब रुपैयाँ) बराबरको गेम खेल्न सिकाउने स्टार्टअप कम्पनी मेटाफाई सञ्चालन गरिरहेका छन् । जसले गत फेब्रुअरीमा मात्रै लगानीकर्ताहरूबाट तीन करोड ४० लाख अमेरिकी डलर रकम जुटाएको छ । 

कालो वर्ण लिएर जन्मिएका उनलाई गोरो वर्ण भएका दम्पतीहरूले धर्मपुत्रका रुपमा अँगाले । हुर्काए । उनी जतासुकै जाँदा आफ्नो छालाको रङ्गकै कारण आफूलाई एक्लो महसुस गर्थे । उनको सधैँको अठोट हुने गर्थ्यो, केही गरेरै छाड्ने । 

“म सम्झिन्छु, एकदमै खालीखाली भएको र आफू कतै पनि मेल नखाने जस्तो महसुस हुन्थ्यो,” फाबियनले सीएनबीसीसँगको कुराकानीमा भनेका छन्, “महत्त्वपूर्ण बन्न चाहन्थेँ… कुनै चिजमा कसैगरी राम्रो देखिने ।”

सीमान्तीकरण शक्तिशाली उत्प्रेरक बन्न सक्छ, फाबियन भन्छन् । आजको दिनमा उनी पिट्सबर्गमा आधारित मेटाफाईका सह संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन् । दुई वर्षको यो अनलाइन प्लेटफर्ममा एमेच्योर भिडिओ गेमरहरूले विश्वका उत्कृष्ट खेलाडीहरूसँग प्रशिक्षण लिन पैसा तिर्ने गर्दछन् । 

१६ वर्षको कलिलो उमेरमा आफ्नो धर्म आमाबुबाबाट छुट्टिएका उनले उच्च माध्यामिक तहको पढाइ समेत छाडे र २० वर्षको उमेरमै बुबा बने । त्यसताका उनी र उनकी श्रीमतीले आफ्नो सन्तानका लागि कठिन समय गुजारे ।

तर फाबियन एक कोडर थिए । कम्प्युटरमा प्रोग्राम बनाउने काम गर्दथे । एक सय अमेरिकी डलरमा ससाना वेबसाइटहरू बनाउँथे । त्यो समय उनको आयश्रोत त्यही काम थियो ।

उनलाई आफ्नो परिवार र भविष्यको चिन्ता थियो । त्यसैले उनले आफ्नो सीप निखार्न सिकागोमा तीन महिना कोडिङ सिके । जसले गर्दा सन् २०१२ मा उनलाई स्टार्टअप कम्पनी ओबाजमा काम मिल्यो । 

त्यहाँ उनले छ अङ्कको तलबसँगै कम्पनीमा इक्विटी समेत पाएका थिए । दुई वर्षपछि ग्रुपोनले ओबाजलाई दुई लाख ५० हजार अमेरिकी डलर (करिब तीन करोड रुपैयाँ) किनेपछि आर्थिक रूपमा उनले पहिलेभन्दा धेरै सहजता प्राप्त गरे । “त्यो जीवन-परिवर्तनकारी थियो,” उनी भन्छन् ।  

लगभग ग्रुपोनमा ३ वर्ष बसेपछि उनले प्रविधि विश्वलाई छोडेर आफ्नो अर्को रुचिको क्षेत्र गेमिङमा आए । उनी केही समयमै राष्ट्रिय स्तरको मान्यताप्राप्त ‘यू-गि-ओखेलाडी बन्न सफल भए । उनी दैनिक आठ घण्टासम्म क्ल्याश रोयल हर्थ स्टोन जस्ता अनलाइन गेमहरू लगातार खेल्थे ।

आफुले खेलिरहँदा युट्युब जस्ता लाइभ स्ट्रिमिङ प्लेटफर्महरूमा प्रत्यक्ष प्रसारण गर्थे । पछि उनको गेमिङ सीप देखेर अरु नयाँ खेलाडीहरूले ‘वान टु वान’ प्रशिक्षणका लागि आग्रह गर्न थाले । त्यस पश्चात प्रति घण्टा एक सय अमेरिकी डलर शुल्क लिएर उनले प्रशिक्षण  दिन थाले ।  

उनले यसरी ६ महिनासम्म प्रशिक्षण दिँदा ४० हजार अमेरिकी डलर कमाए । उनका लागि यो ठूलो रकम भए पनि वेब डिजाइनरको करियर छोड्नका लागि भने पर्याप्त थिएन । तर उनलाई कहीँ कतै लागिरहेको थियो, आफूले अरु केही प्रमाणित गर्नु छ । र त्यो थियो छुट्टै नवीनतम् व्यवसाय ।

त्यस पश्चात सन् २०१६ मा उनले एनिमी र म्यानगा कोमिक्स मन पराउनेहरूका लागि सामाजिक सञ्जाल किट्सु सार्वजनिक गर्ने कोशिस गरे । तर आर्थिक अभावका कारण उनी पुनः गेमिङ कोचकै आइडियामा फर्के ।

त्यतिञ्जेलसम्म उनका चार सन्तान भैसकेका थिए । उनीहरू अनलाइन भिडिओ गेम पोकेमोन खेल्दै बस्थे । उनीहरूलाई खेल खेल्न सिकाउनका लागि ‘टप र्‍याङ्क’ (शीर्ष वरियताका) खेलाडीहरूलाई बोलाउँदा उनीहरूले मात्र प्रति घण्टा २० अमेरिकी डलर लिने बताए ।

जुन उनले पहिले आफूले प्रशिक्षण दिँदाको तुलनामा निकै कम थियो । पछि फाबियनको घर खर्च त्यही गेम कोचिङबाट चल्न थालेको थियो । उनको बारेमा अरु खेलाडीहरू स्वतःस्फूर्त किसिमले गेमरसेन्सेइ, फाइबर जस्ता प्लेटफर्महरूमा प्रचार गरिदिन्थे ।

तर फाबियनका अनुसार उच्च कोटीका प्रशिक्षकलाई बुकिङ गरेर आउने रकमले खानपिन गर्न पुग्दैन थियो । उनी र उनका साथी टोम मेक् निभेन, जसलाई उनले किट्सु बनाउँदा ज्यालामा लिएका थिए । उनीहरू दुवै मिलेर खाली समयमा नयाँ प्लेटफर्मको लागि कोडिङ गर्न थाले । 

जब कोरोना महामारी स‌ंसारभर फैलियो, तब उनीहरूले आफ्नो आइडिया सान फ्रान्सिस्को स्थित स्टार्टअपलाई मद्दत गर्ने ‘प्रोडक्ट क्लब’मा लगे । जुन क्लब प्रख्यात डेटिङ एपकी पूर्व उपनिर्देशक जेफ मोरिश जुनियरले सञ्चालन गर्थिन् ।

त्यहाँ उनीहरूको आइडियालाई एक लाख अमेरिकी डलर लगानीको अवसर जुट्यो । त्यसपछि मेटाफाईको जन्म भयो । आज मेटाफाईलाई भरपर्दो लगानीकर्ता समुहहरूले लगानी गरिरहेका छन् । हरेक विद्यार्थीबाट कम्पनीले पाँच प्रतिशत नाफा गरिरहेको छ । 

आज गेमको विषयमा ‘मास्टर क्लास’ सञ्चालन गर्ने फाबियनको चाहना पूरा भएको छ । जहाँ प्रत्यक्ष रुपमा विद्यार्थी र प्रशिक्षक भेट हुन सक्छन् । उनलाई पूर्ण विश्वास छ कि मेटाफाई केही वर्ष भित्रै अर्ब डलर बराबरको स्टार्टअप कम्पनी र ईस्पोर्टको कोशेढुङ्गा बन्नेछ । सार्वजनिक गरेको दुई वर्षभित्रै मेटाफाईले लोभलाग्दो सफलता हात पारेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३