टेलिकम टावर जडान गर्न मिल्नेगरी सरकारी भवन बनाउन संसदीय समितिको निर्देशन
साउन १२, २०७९ १५:४७
काठमाडौं । टेलिकमका टावर जडान राख्न मिल्नेगरी सरकारी निकायका भवन निर्माणमा सहजीकरण गरिदिन संसदको विकास तथा प्रविधि समितिले सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारी भवनहरुमा टावर जडान गर्न सकिने गरी आवश्यक मापदण्ड बनाई कार्यान्वयनमा सहजीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
‘हाल आम नागरिकहरुको निवासमा राखिएका टावरहरु समेत हटाउन दबाब बढ्दै गइरहेको विषयलाई ध्यानमा राखी नेपाल सरकारका विभिन्न निकायहरुवाट निर्माण गरिने भवनहरुमा नै त्यस्ता टावरहरु जडान गर्न मिल्नेगरी आवश्यक मापदण्ड बनाई कार्यान्वयनमा साजिकरण गर्ने व्यवस्था मिलाउन समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयलाई निर्देश गर्छ,’ बैठकको निर्णयमा भनिएको छ ।
यसअघि बैठकमा बोल्ने क्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारी कार्यालयको भवनमा टेलिकमको टावर राख्न दिनुपर्ने विषय उठाएका थिए ।
त्यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले सहरी क्षेत्रमा टावर राख्न घर नपाइएको भन्दै हलुका र साना टावर भित्र्याएर सेवा विस्तार गर्नतर्फ अध्ययन थालिएको जानकारी दिए ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
