close

निःशुल्क प्रोग्रामिङ सिक्न उपयोगी ५ वेबसाइट

टेकपाना टेकपाना

साउन १२, २०७९ १६:१७

निःशुल्क प्रोग्रामिङ सिक्न उपयोगी ५ वेबसाइट

काठमाडाैं । प्रविधि क्षेत्रमा तीव्र गतिमा भइरहेकाे आधुनिकीरणले नयाँ नयाँ अवसर सिर्जना गरिरहेकाे छ । याेसँगै सीप र ज्ञानकाे दायरामा फराकिलाे बनिरहेकाे छ । यस्तै आवश्यक सीपमध्ये प्राेग्रामिङ पनि एक हाे ।

वेब डेभलपमेन्टमा काम नगरे पनि प्रोग्रामिङ सिक्नाले तपाईंको काममा सुधार ल्याउन, तार्किक सोचमा विकास ल्याउन र विभिन्न समस्या समाधान गर्न मद्दत गर्छ ।

यदि तपाईं एक डिजाइनर हुनुहुन्छ भने पनि कोड कसरी गर्ने भनेर जान्नु धेरै महत्त्वपूर्ण छ । आधारभूत प्रोग्रामिङ ज्ञानले तपाईंलाई डेभलपरहरुसँग अझ प्रभावकारी रूपमा काम गर्न मद्दत गर्छ ।

वर्तमान समयमा तपाईंसँग इन्टरनेट र कम्प्युटर छ भने जुनसुकै स्थानबाट पनि निःशुल्क प्रोग्रामिङ सिक्न सक्नुहुन्छ । निःशुल्क प्रोग्रामिङ सिक्नका लागि उपयुक्त ५ वेबसाइट कुन-कुन छन् भन्नेबारे आज हामी चर्चा गर्छौं ।  

१.  कोडएकेडेमी (Codecademy)

कोड सिक्नका लागि एक मुख्य नि:शुल्क वेबसाइट हो, कोडएकेडेमी । हालैका तथ्याङ्क अनुसार चार करोड ५० लाखभन्दा बढी मानिसले यस प्लेटफर्ममार्फत कोड गर्न सिकेका छन् ।

कोडएकेडेमीले विशेष अनलाइन कोडिङ प्रशिक्षण प्रदान गर्दछ । तपाईंले कोडएकेडेमीमा जाभा स्क्रिप्ट, सीएसएस, पाइथनसहित अन्य धेरै प्रोग्रामिङ भाषा सिक्न सक्नुहुन्छ ।

२. युडेमी (Udemy) 

युडेमी एक वेबमा आधारित लर्निङ प्लेटफर्म हो । यसमा ८०००० बढी अनलाइन कोडिङ कोर्ष छन् ।

वेब प्रोग्रामिङ, यूएक्स डिजाइन, आईओएस डेभलपमेन्टजस्ता प्रोग्रामिङ कोर्ष उपलब्ध छन् । यसले कतिपय कोर्ष निःशुल्क पनि उपलब्ध गराउँछ । 

३. कोर्सेरा (Coursera)

कोर्सेरा स्टानफोर्डका प्रोफेसर एन्ड्रयू एनजी र डाफ्नी कलरले विकास गरेकाे एक नि:शुल्क अनलाइन शिक्षा दिने प्लेटफर्म हो ।

कोर्सेराले ११९ विभिन्न विद्यालयहरूबाट एक हजारभन्दा बढी पाठ्यक्रम प्रदान गर्न विश्वका उत्कृष्ट कलेजहरू र शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दछ ।

यसमा रहेका निःशुल्क कोर्षहरु तपाईंले सिकेर सर्टिफिकेट समेत पाउन सक्नुहुन्छ ।  

४. खान एकेडेमी (Khan Academy)

खान एकेडेमी एक गैर-नाफामूलक इन्फर्मेसन वेबसाइट हो, जहाँ तपाईंले कोड पनि सिक्न सक्नुहुन्छ ।

शिक्षक सलमान खानले २००६ मा धेरैजसो य़ुट्युब भिडियोहरूमा आधारित व्यक्तिगत सिकाई अनुभव प्रदान गर्ने उद्देश्यले याे प्लेटफर्म सुरू गरेका थिए ।

खान एकेडेमी कोडिङ सिक्ने उत्कृष्ट प्लेटफर्ममध्ये एक हो, किनभने त्यहाँ धेरै कोडिङ पाठ्यक्रमहरू र स्रोतहरु उपलब्ध छन् ।

यसले विद्यार्थीहरूलाई उनीहरूको प्रोग्रामिङ क्षमताहरू सुधार गर्न मद्दत गर्दछ । सबै पाठ्यक्रमहरू विशेषज्ञबाट सिकाइन्छ, र तपाईंले सुरुवातदेखि एड्भान्ससम्म सबै स्तरका लागि पाठ्यक्रमहरू फेला पार्न सक्नुहुन्छ ।

५. डब्लुथ्री स्कुल्स (W3Schools)

डब्लुथ्री स्कुल्स वेबसाइटमा तपाईं अनलाइन कोड सिक्न सक्नुहुन्छ । यसमा वेब डेभलपमेन्टका लागि धेरै कन्टेन्ट र  रिसोर्स उपलब्ध छन् ।

एचटीएमएल, सीएसएस, पीएचपी, जाभास्क्रिप्ट, जेक्वेरी, एक्सएमएल, एसक्यूएल, एएसपी, जेएसपीजस्ता पाठ्यक्रम यसमा उपलब्ध छन् ।

यसमा तपाईंले निःशुल्क आधारभूत तहदेखि एड्भान्स तहसम्म काेडिङ सिक्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३