काठमाडौं । यदि तपाईंले गुगल क्रोमलाई मुख्य ब्राउजरका रूपमा प्रयोग गर्नुभएको छ भने तपाईंलाई पक्कै पनि त्यसको ‘सेभ पासवर्ड’ फिचरबारे जानकारी छ होला । ‘सेभ पासवर्ड’ एउटा त्यस्तो फिचर हो, जसले क्रोममा गई साइनअप गरेका कुनै पनि अकाउन्टको पासवर्ड सेभ गरेको हुन्छ ।
कतिपय अवस्थामा क्रोमको पासवर्ड सेभ गर्ने फिचरमा समस्या आएको हुन्छ । आज हामी क्रोममा पासवर्ड सेभ नहुने समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्दैछौं ।
हामीलाई हरेक अकाउन्टको पासवर्ड सम्झिरहन सम्भव हुँदैन । प्रायः अकाउन्ट बनाउँदा फरक-फरक क्यारेक्टर, लेटर, संकेत आदि प्रयोग गर्नुपर्ने भएकाले सम्झिन झन्झट नै हुन्छ ।
यो समस्याको समाधान पासवर्ड मेनेजरले गरेको हुन्छ । गुगल क्रोमको आफ्नै पासवर्ड मेनेजर टुल छ, जुन गुगल अकाउन्टमा समायोजन भएको हुन्छ ।
त्यसैले पनि पासवर्ड सेभ नहुने समस्या क्रोम अथवा गुगल अकाउन्टमा आइरहेको हुन्छ ।
गुगल क्रोममा पासवर्ड किन सेभ हुँदैनन् होला ?
गुगल क्रोममा पासवर्ड नहुँदा निकै नै दिकदार भइएको हुन्छ । गुगल क्रोममा यी विविध कारणले पासवर्ड सेभ नभएको हुनसक्छ ।
क्रोमको आउटडेटेड भर्जन प्रयोग गर्नु
गल्तीले पासवर्ड सेभ हुने फिचर निष्क्रिय गर्नु ।
केही त्यस्ता सफ्टवेयर तथा एक्सटेन्सन प्रयोग गर्नु, जसले गर्दा पासवर्ड सेभ हुने फिचरलाई प्रभाव पारेको होस् ।
गुगल अकाउन्टमा समस्या आउनु
क्रोमको क्यास फोल्डरमा समस्या आउनु
यदि तपाईंलाई के समस्याले पासवर्ड सेभ नभएको भन्ने थाहा छैन भने तल उल्लेख गरिएका प्रक्रिया अपनाई समस्याको समाधान गर्न सकिन्छ ।
यहाँ विभिन्न प्रक्रियाका बारेमा जनाकारी दिइएको छ, जसको माध्यमबाट क्रोममा पासवर्ड सेभ नहुने समस्या समाधान गर्न सकिन्छ ।
क्रोमको पासवर्ड सेटिङ हेर्नुहोस्
सबैभन्दा पहिले क्रोममा जानुहोस् । त्यसपछि सबैभन्दा माथि दायाँपट्टि रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।
अब सेटिङमा जानुहोस् ।
त्यसपछि बायाँपट्टि रहेको अटोफिल अप्सन छान्नुहोस् ।
अनि पासवर्ड अप्सनमा क्लिक गर्नुहोस् ।
त्यसमा अफर टु सेभ पासवर्ड अप्सन देख्न सकिन्छ । यदि यो अप्सन अफ छ भने अन गर्नुहोस् ।
त्यसपछि क्रोम पुनः खोल्नुहोस् ।
यदि त्यसरी सेभ गर्दा पासवर्ड सेभ भएन भने अर्को प्रक्रिया हेर्नुहोस् ।
लोकल डेटा भण्डारण गर्न क्रोम सेटिङ अपडेट गर्नुहोस् ।
सबैभन्दा पहिले क्रोममा गएर माथि दायाँपट्टि रहेको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
त्यसपछि सेटिङमा जानुहोस् ।
अब बायाँपट्टि रहेको प्राइभेसी एन्ड सेटिङको अप्सनमा गएर कुकिज एन्ड अदर साइट डेटा अप्सनमा क्लिक गर्नुहोस् ।
यदि क्लियर कुकिज एन्ड साइट डेटा ह्वेन यू क्लोज अल विन्डो अप्सन अफ छ भने त्यसलाई अन गर्नुहोस् ।
क्रोम बन्द गरेर त्यसलाई पुनः खोल्नुभयो भने यो समस्या समाधान हुनसक्छ ।
गुगल क्रोमको क्यास एन्ड कुकिज हटाउनुहोस् ।
क्रोममा सीमीत मात्रमा क्यास तथा कुकिज भण्डारण गर्ने क्षमता हुने गर्छ । यदि तपाईंले कतिओटा अकाउन्टको पासवर्ड सेभ भएका छन् भन्ने कुरा लामो समयदेखि नियाल्नु भएको छैन भने स्टोरेजको समस्या भएको हुनसक्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।
माथि उल्लेख गरे जस्तै तीन ओटा डटमा क्लिक गरेर मोर टुल्स्को अप्सनमा जानुहोस् ।
त्यसपछि त्यहाँ क्लिय ब्राउजिङ डेटामा क्लिक गर्नुहोस् ।
त्यसपछि त्यहाँ भएका ब्राउजिङ डेटा, कुकिज एन्ड अदर साइट डेटा, क्यास इमेज एन्ड फाइल्स सबै छानेर क्लियर डेटामा क्लिक गर्नुहोस् ।
क्रोम अपडेट गर्नुहोस् ।
सबैभन्दा पहिले क्रोम खोलेर माथि दायाँपट्टि रहेको तीनओटा डटमा ट्याप गर्नुहोस् ।
त्यसपछि हेल्पको अप्सनमा जानुहोस् ।।
त्यसपछि अबाउट गुगल क्रोममा क्लिक गर्नुहोस् ।
स्क्यान भइसकेपछि क्रोम इज अप टु डेट भन्ने अप्सन देख्नुहुन्छ । त्यसपछि पुनः क्रोम खुल्यो भने पासवर्ड सेभ हुन थाल्छ ।
गुगल अकाउन्ट लगआउट गरेर फेरि लगइन गर्नुहोस् ।
माथि उल्लेख गरिएका प्रक्रियाबाट पनि पासवर्ड सेभ नहुने समस्या समाधान भएन भने क्रोमबाट गुगल अकाउन्ट लगआउट गर्नुहोस् । क्रोममा गुगल अकाउन्ट लगआउट गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिले क्रोम खोल्नुहोस् ।
त्यसपछि माथि दायाँपट्टि रहेको तपाईंको प्रोफाइलको आइकनमा क्लिक गर्नुहोस् ।
त्यसपछि मेनेज योर गुगल अकाउन्टमा क्लिक गर्नुहोस् ।
त्यसपछि पुनः अर्को पेज खुल्छ जसको सबैभन्दा तल साइन आउट अफ अल अकाउन्टमा क्लिक गर्नुहोस् ।
एकपटक साइन आउट गरिसकेपछि पुनः साइनइन गर्नुभयो भने तपाईंको समस्या समाधान हुन सक्छ ।
क्रोम पुनः इन्स्टल गर्नुहोस् ।
माथि उल्लेख गरिएका विभिन्न प्रक्रिया अपनाउँदा पनि समस्या समाधान नभएको खण्डमा क्रोम अनइन्स्टल गरेर पुनः इन्स्टल गर्नुहोस् । यसो गर्दा भित्र अन्य कुनै सेटिङ परिवर्तन भएर पासवर्ड सेभ नभएको रहेछ भने त्यसपछि पासवर्ड सेभ हुन्छ ।
क्रोममा भएका एक्सटेन्सन हटाउनुहोस्
कतिपय अवस्थामा क्रोममा इन्स्टल गरिएका एक्सटेन्सनले गर्दा पासवर्ड सेभ नभएको हुन सक्छ । त्यसका लागि तपाईंले त्यस्ता एक्सटेन्सन हटाउनुपर्ने हुन्छ ।
क्रोमबाट एक्सटेन्सन हटाउनका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।
सबैभन्दा पहिले गुगल क्रोम खोल्नुहोस् ।
त्यसपछि माथि सर्चबारको छेउमा रहेको सेटिङ जस्तो आइकन (एक्सटेन्सनमा) मा जानुहोस् ।
त्यसपछि तपाईंलाई पासवर्ड सेभ हुन नदिने कुन एक्सटेन्सन हो जस्तो लाग्छ, त्यसको छेउमा रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।
त्यसपछि रिमुभ फ्रम क्रोमको अप्सनमा क्लिक गरी हटाउन सक्नुहुन्छ ।