close

इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि अनिवार्य गर्न बार अशोसिएसनको माग

टेकपाना टेकपाना

साउन १९, २०७९ १४:२६

इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि अनिवार्य गर्न बार अशोसिएसनको माग

काठमाडौं  । नेपाल बार अशाेसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि) अनिवार्य गर्न माग गरेको छ । भाषा मुलुकको पहिचान र राष्ट्रिय गौरवको विषय हुने भएकाले हरेक राज्यले भाषको संरक्षण गर्नुपर्ने भन्दै नम्बर प्लेटमा देवनागरी लिपि अनिवार्य गर्न बारले माग राखेकाे हाे ।

‘’नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्वर्द्धन गर्न सवारी तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि) को अनिवार्य व्यवस्था गरिनुपर्छ,’’ बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएकाे छ, ‘’भाषाका माध्यमबाट मानवीय अभिव्यक्ति वा विचारलाई सम्प्रेषण गर्ने वा सञ्चार गर्ने गरिन्छ । तदनुरूप नेपालको संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन्’, धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भन्ने र त्यस्तै ऐ. ७(२) ‘नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ’ भन्ने संवैधानिक व्यवस्था गरी भाषालाई संवैधानिक संरक्षकत्व प्रदान गरिएको छ ।’

यसरी संविधानले नै व्यवस्थाको प्रतिकूल हुनेगरी सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म विपरित हुने बारकाे ठहर छ ।

जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसात् गरेको भाषालाई प्रतिस्थापन गर्नेगरी प्रत्यक्ष वा परोक्ष रुपमा कुनै पनि कार्य गर्न नमिल्ने अशोसिएसनकाे धारणा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३