close

स्टार्टअप व्यवसायीको संस्था युवा उद्यमी मञ्चमा प्राची अग्रवाल

टेकपाना टेकपाना

भदौ ६, २०७९ २२:१८

स्टार्टअप व्यवसायीको संस्था युवा उद्यमी मञ्चमा प्राची अग्रवाल

काठमाडौं । प्राची अग्रवाल नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को पहिलो महिला अध्यक्ष बनेकी छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२२/०२३ का लागि अग्रवालको अध्यक्षतामा नयाँ बोर्ड गठन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष अग्रवाल कुनाल फर्निसिङसहित विभिन्न व्यवसायमा आबद्ध एक सफल व्यवसायी हुन् । उनले युनिभर्सिटी अफ स्ट्राथक्लाइड, ग्लासगोबाट फाइनान्स र मार्केटिङ तथा संयुक्त अरब इमिरेट्सबाट इन्टेरियर डिजाइनिङमा स्नातकोत्तर गरेकी छन् ।

यस वर्ष स्टार्टअपहरूका लागि इन्क्युवेसन सेन्टर सुरु गरेर युवाहरूमा उद्यमशीलताको भावना जगाउन मञ्च केन्द्रित हुने नवनिर्वाचित अध्यक्ष प्राची अग्रवालले बताएकी छन् । “हामी सबैका लागि अनुकूल नीतिको वकालत गर्दै नेपालको अर्थतन्त्रको विकास र निर्माणमा लाग्नेछौं” उनले भनेकी छन् ।

यसअघि मञ्चको अध्यक्षमा सस्तो डिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापा मञ्चको अध्यक्ष रहेका  थिए । उनी मञ्चको गभर्निङ काउन्सिलमा सामेल भएका छन् । थापासँगै गभर्निङ काउन्सिलमा पूर्व अध्यक्ष रोहित गुप्ता र चाङ अग्रवाल समेत रहेका छन् ।

अनुराग गोयल (लर्निङ चेयर), आशिष अग्रवाल (सहायक लर्निङ चेयर), मनिष श्रेष्ठ (सदस्य र संलग्नता चेयर), चिराग सरावागी (कम्युनिकेसन चेयर), अंकुश अग्रवाल (फाइनान्स चेयर) र सुगम घिमिरे (स्टार्टअप चेयर) मञ्चको नयाँ बोर्डमा निर्वाचित भएका छन् । सन् २०१७ मा गठन भएको मञ्च नेपाल उद्योग परिसङ्घको युवा संगठन हो ।

जसको पहिलो अध्यक्ष विष्णुकुमार अग्रवाल रहेका  थिए । अग्रवाल हाल परिसङ्घको अध्यक्ष छन् । युवा उद्यमी मञ्चले हालै सिएनआईवाईइएफ नेपाल स्टार्टअप फेस्ट समेत आयोजना गरेको थियो । उक्त फेस्टमा सात ‌ओटा स्टार्टअपले कूल २४ करोड ५० लाख रुपैयाँ लगानीका लागि प्रारम्भिक सम्झौता गरेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४