काठमाडौं । नयाँ स्मार्टफोन खरिद गर्ने वित्तिकै तपाईं के गर्नुहुन्छ ? धेरैजनाले मोबाइलको क्यामेरा चेक गर्छन् ।
कसैले मोबाइलमा कुन कुन एप छन् भनेर हेर्छन् भने केही कम प्रयोगकर्ताले मात्र मोबाइलको फिचर के छ भनेर सेटिङमा पुग्ने गर्छन् ।
यद्यपि यीबाहेक अन्य पनि धेरै कुरा छन्, जसलाई हामीले ध्यान दिन जरुरी छ ।
१. पुरानो फोन ब्याकअप गर्ने
स्मार्टफोन खरिद गरिसकेपछि सबैभन्दा महत्त्वपूर्ण कुरा हो, डेटा । पुरानो फोनबाट नयाँ फोनमा डेटा सार्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हो ।
क्लाउडको प्रयोग गरेर आजभोलि पुरानो फोनबाट फोन नम्बर, फोटो भिडिओ, मेसेज लगायत विभिन्न एप तथा वेबसाइटहरूको युजर नेम, पासवर्ड लगायतका विभिन्न डेटा नयाँ फोनमा सार्न सकिन्छ ।
तर योसँगै हामीले ध्यान दिनुपर्ने अर्को कुरा भनेको विभिन्न एपमा भएका डेटा पनि हुन् । ह्वाट्सएप, भाइबर लगायतका मेसेजिङ एप अहिलेको व्यवसायिक जिन्दगीमा निकै महत्त्वपूर्ण छ ।
यसले गर्दा पनि यी एपमा भएका डेटा ब्याकअपमा राख्न जरुरी छ । तर यसका लागि प्रयोगकर्ताले आफैंले ब्याकअप गर्नुपर्ने हुन्छ । अर्थात् एपमा भएको ब्याकअप सेटिङलाई इनेबल गर्नुपर्ने हुन्छ ।
यसरी अन्य एपमा भएको डेटा पनि ब्याकअपमा राख्न आवश्यक छ ।
२. मोबाइललाई आवश्यक एक्सेसरिज खरिद गर्ने
नयाँ मोबाइल खरिद गरिसकेपछि यसका लागि हामीले अन्य सामग्री पनि खरिद गर्नुपर्ने हुन्छ । नयाँ मोबाइल खरिद गरिसकेपछि सबैले गर्ने पहिलो काम भनेको फोनको लागि कभर खरिद गर्नु हो ।
आफ्नो नयाँ फोनको सुरक्षाको लागि कभर राख्ने गरिन्छ । फोनको कभरसँगै फोनमा प्रोटेक्सन ग्लास राख्ने, पोर्टबल पावर बैंक खरिद गर्ने, पपसकेट तथा फोन ग्रिपहरू पनि आवश्यकता अनुसार खरिद गर्न सकिन्छ ।
३. एपहरू डाउनलोड गर्ने
आजभोलि धेरैजसो स्मार्टफोनमा प्रयोगकर्तालाई आवश्यक सबै एपहरू प्रि-इन्स्टल भएर आउँछन् । मोबाइलमा पहिले नै इन्स्टल भएका एपलाई पनि प्रयोग गर्नुभन्दा अगाडि सेटअप गर्नुपर्ने हुन्छ ।
योसँगै आफूलाई चाहिने धेरै एप हुन्छन्, जसलाई डाउनलोड गर्न आवश्यक हुन्छ । अथवा पुरानो मोबाइलबाट नयाँ मोबाइलमा पनि एपहरू सार्न सकिन्छ ।
४. फोनको डिजाइन पर्सनलाइज गर्ने
नयाँ फोन सबै सेटअप भइसकेपछि आफ्नो पुरानै मोबाइलको लुक्स दिन प्रयोगकर्ताहरूले पुरानै वालपेपर राख्ने लगायतका काम गर्छन् । तर योसँगै फोनमा भएको नयाँ डिजाइन र फिचरहरू पनि प्रयोग गर्न सकिन्छ ।
साथै स्मार्टफोनमा हरेक पटक आउने नयाँ-नयाँ लक स्क्रिन तथा वालपेपरका फिचरहरू सेटअप गर्नुपर्छ । यसले हाम्रो दैनिकीलाई सहयोग गर्छ ।
जस्तो कि, लक स्क्रिनको विजेटमा वाच, क्यालेन्डर, मौसमको जानकारी लगायत फिचर थप गर्न सकिन्छ । लक स्क्रिनमा के देखिने वा नदेखिने भनेर पनि मिलाउन सकिन्छ ।
५. ब्याट्री सेटिङ परिवर्तन गर्ने
नयाँ स्मार्टफोन खरिद गरिसकेपछि ब्याट्री सेटिङ पनि मिलाउनुपर्छ । मोबाइलमा पहिले नै भएका केही एप र अन्य फिचरका कारण ब्याट्री छिटो खपत भइरहेको हुनसक्छ ।
मोबाइलको ब्रान्ड अनुसार ब्याट्रीको लागि फरक-फरक सेटिङ हुने गर्छन् । ब्याट्रीको खपत कम गर्नको लागि विभिन्न सेटिङ प्रयाेग गर्न सक्नुहुन्छ । जस्तै ब्याकग्राउन्डमा एपको प्रयोग लगायतका सेटिङलाई डिसेबल गर्न सकिन्छ ।
६. स्क्रिनको सेटिङ परिवर्तन गर्ने
अहिलेका स्मार्टफोनमा धेरै फिचरहरू हुन्छन् । यस्तोमा सबैभन्दा वास्ता नगरिने फिचर भनेको फोनको डिस्प्ले हो ।
प्रयोगकर्ताको सहजताका लागि धेरै डिस्प्ले सेटिङ उपलब्ध गराइएकाे हुन्छ, जसलाई हामीले वास्ता गरेका हुँदैनौं । त्यसैले डिस्प्लेका सेटिङहरू पनि मिलाउन आवश्यक हुन्छ ।
आफ्नो अनुकूलता अनुसार डिस्प्ले सेटिङ परिवर्तन गर्न सकिन्छ । सामान्यतया नयाँ स्मार्टफोनमा डिस्प्ले लाइट लगायतका सेटिङ मिलाइएकाे हुँदैन ।