काठमाडौं । भारतको नोयडामा सुपरटेक कम्पनीले तयार गरेको १०० मिटर अग्ला ट्वीन टावर आज ‘वाटरफल इम्प्लोजन टेक्निक’ प्रयोग गरेर ध्वस्त बनाइने भएको छ ।
यो भारतको इतिहासमै सबैभन्दा ठूलो विष्फाेट हुने जनाइएकाे छ ।
नेपाली समय अनुसार दिउँसाे २ः५० बजे यी दुई टावर भत्काउने तयारी भइरहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सरल रूपमा बुझ्नुपर्दा झरनामा पानी खसेजस्तै गरी संरचनालाई ध्वस्त गर्ने प्रक्रियालाई वाटरफल इम्प्लोजन (waterfall implosion) भनिन्छ ।
तीन हजार ७०० किलो बारुद प्रयोग गरेर ध्वस्त पार्न लागिएको यो संरचना धेरै ठूलो उचाइबाट पानी खसेझैँ सिधा भूइँतर्फ ढल्नेछ ।
यी टावरमा ९,६४० ओटा प्वाल बनाई बारुद संरचनाभित्र राखिएको छ । धेरै अग्ला संरचनाहरू ध्वस्त बनाउनका लागि यो टेक्निक अपनाउने गरिन्छ ।
यो ट्वीन टावरमा दुईओटा टावर छन्; ३२ तल्ले एपेक्स टावर र २९ तल्ले सियान टावर । यो टावर १५ सेकेन्डभन्दा पनि कम समयमा ध्वस्त हुने बताइएकाे ।
यो विष्फाेटले वरपरको क्षेत्रमा १५० देखि २०० डेसिबल सम्मको आवाज उत्पन्न गर्ने बताइएको छ ।
यसैगरी यो विष्फाेटले ८०,००० टन भन्दा बढि फोहोर पैदा गर्ने बताइएको छ, जसमध्ये ५०,००० टनलाई विष्फाेटन गराइएको स्थानमा व्यवस्थित गराइनेछ भने २८,००० टन डेब्रिसलाई भने नोइडाको कन्सट्रक्सन एण्ड डेमोलिसन वेस्ट प्लान्टमा वैज्ञानिक तवरले व्यवस्थित गरिनेछ ।
भारतको एडिफिस इन्जिनियरिङ इन्टरप्राइज प्राइभेट लिमिटेड नामक कम्पनीले यो ट्वीन टावर भत्काउन लागेको हो । अवैधानिक रुपले निर्माण गरिएको ठहर गर्दै सन् २०२१ को अगस्ट ३१ मा भारतको सर्वोच्च अदालतले ट्वीन टावर भत्काउन आदेश दिएको थियो ।