close

पठाओ राइडरको गुनासोः मोबाइल स्ट्याण्ड नहुँदा गुगल म्याप प्रयोग गर्न गाह्रो हुने भयो

टेकपाना टेकपाना

भदौ १५, २०७९ १९:०

पठाओ राइडरको गुनासोः मोबाइल स्ट्याण्ड नहुँदा गुगल म्याप प्रयोग गर्न गाह्रो हुने भयो

काठमाडौं । ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्न निषेध गरेपछि राइड शेयरिङ सेवा दिने चालक प्रभावित भएका छन् ।

राइड शेयरिङ सेवामा लोकेसन ट्र्याकिङका लागि राइडरहरूले बाइक, स्कुटरमा मोबाइल स्ट्यान्ड (होल्डर) सामान्य भइसकेको बेला ट्राफिक प्रहरी कार्यालयले यसको प्रयोग राेक्ने निर्णय गरेपछि राइड शेयरिङ सेवामा असर पुगेकाे हाे ।

पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले मोबाइल स्ट्याण्ड राख्न नपाउँदा राइडर र फुडम्यानले गुनासाे गरेकाे सुनाए ।

‘माेबाइल स्ट्यान्ड नहुँदा उहाँहरूले गुगल म्याप प्रयोग गर्न कठिनाइ भइरहेकाे गुनासो गर्नुभएकाे छ,’ उनले भने ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाएको सूचना पालना गर्दै पठाओले आफ्ना राइडरलाई अबदेखि मोबाइल स्ट्यान्ड नराख्न अनुरोध गरेको थियाे ।

“नेपाल सरकारको प्रचलित कानूम बमोजिम निर्माण भइसकेको बाइकमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरुप परिवर्तन (मोडिफिकेसन) हो र सोही कारण बाइकमा राखिएका मोबाइल स्ट्याण्ड हटाउन भनी केही दिन अगाडि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट हामीलाई सूचना प्राप्त भएको थियो,” उनले भने, “प्रहरीको आदेश बमोजिम उक्त सूचना हाम्रा राइडर र फुडम्यान साथीहरूलाई गत सोमबारदेखि जानकारी गराएका छौँ ।”

यसपछि आएका असन्तुष्टिलाई सम्बोधन गर्न पहल कदमी गर्ने प्रतिबद्धता बस्नेतले जनाए ।

“हामी हाम्रा अग्रभागमा खटिएर काम गर्ने साथीहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहल कदमी गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ,” उनले भने ।

*शीर्षक अपडेट गरिएको छ ।

सम्बन्धित समाचार: बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे २० हजारसम्म जरिवाना तिर्नुपर्ने !

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३