काठमाडौं । दूरसञ्चार सेवा प्रदायकले नियम विपरीत भ्यालु एडेड सर्भिस (भ्यास सर्भिस) ग्राहकको जानकारी बिनै स्वतः नवीकरण गर्ने गरेको भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ ।
सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले यस्ता काम तत्कालै बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्रयोगकर्ताले लिएको कुनै पनि भ्यास सर्भिस नवीकरण गर्ने/नगर्ने भन्ने विषयमा ग्राहकलाई जानकारी गराएरमात्रै गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
सूचनामा भनिएको छ, “भ्यास सेवाको अविधि सकिन लागेको जानकारी ग्राहकलाई सेवा अवधि सकिनुअगावै एसएमएस मार्फत निःशुल्क रुपमा पठाउनु पर्नेछ । सेवा नवीकरण गर्ने/नगर्ने सम्बन्धामा एसएमएसमार्फत ग्राहकको प्रतिक्रिया माग गर्नुपर्ने हुन्छ ।”
त्यतिमात्रै नभएर एसएमएस मार्फत नवीकरण गर्न अनुरोध गर्ने ग्राहकका लागि सेवा प्रदायकले सो सेवा नवीकरण गर्ने व्यवस्था गर्नुपर्ने, तर एसएमएसमार्फत नवीकरण नगर्ने जानकारी गराउने तथा कुनै प्रतिक्रिया नजनाउने ग्राहकको लागि उक्त सेवा स्वतः नवीकरण नगराउन विभिन्न समयमा निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।
यस्ता निर्देशकनका बावजुद पनि सेवा प्रदायकले अवज्ञा गर्दै स्वतः नविकरण गराउने गरेको सामाजिक सञ्जालबाट खुल्न आएको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्ता कार्य नगर्न भन्दै प्राधिकरणले कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ । साथै प्राधिकरणले कुनै पनि भ्यास सेवा स्वतः नविकरण हुने गरेको पाइएमा प्राधिकरणलाई जानकारी गराउन समेत आग्रह गरेको छ ।