close

गुगल म्याप्सबाट यसरी नाप्नुहोस् दुई स्थानबीचको दुरी

टेकपाना टेकपाना

भदौ २१, २०७९ १६:४

गुगल म्याप्सबाट यसरी नाप्नुहोस् दुई स्थानबीचको दुरी

काठमाडौं । गुगल म्याप्स विशेषगरी विभिन्न ठाउँको लोकेसन हेर्नका लागि प्रयोग गर्ने गरिन्छ । कुनै नयाँ ठाउँमा जानुपर्‍यो भने गुगल म्याप्सले पथ प्रदर्शकको भूमिका निभाएको हुन्छ ।

त्यसबाहेक पनि यसलाई अन्य थुप्रै प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ । आज हामी गुगल म्याप्सबाट कसरी कुनै पनि दुरी नाप्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

गुगल म्याप्सको एन्ड्रोइड वा आईओएस दुवै एपका साथै डेस्कटपबाट समेत विभिन्न ठाउँको कुनै पनि दुरी नाप्न सकिन्छ ।

डेस्कटपमा दुरी नाप्ने तरिका 

गुगल म्याप खोलेपछि कुनै एक स्थानको लोकेसन (तपाईंले नाप्न खोजेको दुरीको एउटा विन्दु) को पोइन्टमा राइट क्लिक गर्नुहोस् र ‘मेजर डिस्टेन्स’ अप्सन छनौट गर्नुहोस् ।

यति गरिसकेपछि सिधा दुरी नाप्न चाहनुहुन्छ भने अर्को विन्दुमा ‘लेफ्ट क्लिक’ गर्नुहोस् । 

यदि तपाईंले नाप्न खोजेको दुरी केही घुमाउरो छ भने अर्को विन्दुको दिशामा एकपछि अर्को गर्दै ‘लेफ्ट क्लिक’ गर्दै जानुहोस् । 

यसक्रममा तपाईंले एउटा कालो धर्सो देख्नुहुनेछ, जसले तपाईंले छनौट गरेको एउटा लोकेसनदेखि अर्को लोकेसनसम्मको दुरी देखाउँछ । 

सो चिन्ह हटाउन चाहनुहुन्छ भने तपाईंले पुनः कुनै एउटा लोकेसनमा क्लिक गर्नुपर्ने हुन्छ अथवा मेजरमेन्ट देखाइएको बक्समा भएको ‘X’ चिन्हमा क्लिक गर्न पनि सक्नुहुन्छ । 

साथै कालो धर्सा बीचमा रहेको कुनै एक विन्दुमा ‘राइट क्लिक’ गरी ‘क्लियर मेजरमेन्ट’मा क्लिक गर्दा पनि हुन्छ ।

मोबाइलमा के गर्ने ? 

यसका लागि सबैभन्दा पहिला गुगल म्याप खोल्नुहोस् र दुरी मापन गर्न चाहेको एउटा लोकेसनमा रातो चिन्ह नआएसम्म थिची राख्नुहोस् । 

अब स्क्रिनको तल्लो भागमा आउने लोकेसनको नाममा दबाउनुहोस् । 

त्यसपछि मेजर डिस्टेन्स अप्सन छनौट गर्नुहोस् ।

र म्यापलाई त्यहाँ आउने कालो रंगले घेरिएको सेतो थोप्ला दुरी मापन गर्न चाहेको अर्को लोकेसनमा पर्नेगरी ड्र्याग गर्नुहोस् । 

यति गरेसँगै तपाईंले स्क्रिनको तल्लो भागमा ती दुई स्थान बीचको दुरी देख्न सक्नुहुन्छ । 

साथै यसबाट आफू अनुकुलको बाटो अथवा घुमाउरो गरी दुरी नाप्न पनि सकिन्छ । यसका लागि लोकेसन जीपीएस जस्तो देखिने अघिको आइकनलाई एक लोकेसनबाट अर्को लोकेसनतर्फ पर्नेगरी राख्नुहोस् र प्लस आइकन थिच्नुहोस् । त्यसपछि पुनः त्यसैगरी उही दिशामा अर्को स्थानमा राखेर प्लस बटन दबाउनुहोस् । 

यसरी तपाईंले सहजै कुनैपनि स्थान बीचको दुरी मापन गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३