close

बहुप्रतिक्षित आईफोन १४ सिरिज सार्वजनिक, यस्ता छन् मोडेल, फिचर र मूल्य

टेकपाना टेकपाना

भदौ २३, २०७९ ८:५६

बहुप्रतिक्षित आईफोन १४ सिरिज सार्वजनिक, यस्ता छन् मोडेल, फिचर र मूल्य

काठमाडौं । एप्पलले बहुप्रतिक्षित आईफोन १४ सार्वजनिक गरेको छ । बुधबार राति ‘फार आउट’ इभेन्ट गर्दै एप्पलले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स गरी चार माेडल सार्वजनिक गरेकाे हाे ।

त्यस्तै कम्पनीले एप्पल वाच अल्ट्रा र एप्पल वाच एसई पनि सार्वजनिक गरेको छ ।

घोषणा हुनुअगावै आईफोन १४ सिरिजबारे थुप्रै टिका टिप्पणी तथा विश्लेषण बाहिर आएका थिए । यहाँ हामीले आईफोन १४ मा भएका महत्त्वपूर्ण फिचर, त्यसको मूल्य र डिजाइनका बारेमा जानकारी दिएका छौँ ।

डिजाइन

कम्पनीले अन्य सिरिज जस्तो आईफोन १४ सिरिजको डिजाइनमा पनि कुनै परिवर्तन गरेको छैन । यसमा पहिलेको सिरिज जस्तै पछाडिको भागमा ग्लास, धातुको किनारा र दुईदेखि तीन ओटासम्म रियर क्यामेरा रहेका छन् ।

यद्यपि आईफोन १४ सिरिजको चौडाइ अन्य सिरिजको भन्दा बढी छ । चाैडाइ बढी भएकाले क्यामेरा अन्य सिरिज जस्तो बाहिर निस्किएकाे छैन ।

यही सानो परिवर्तनले गर्दा आईफोन १३ मा प्रयोग गरिरहेको फोन केस (फोनको कभर) भने यसमा उपयुक्त हुँदैन ।

त्यस्तै अगाडिको भागको कुरा गर्ने हो भने कम्पनीले नयाँ सिरिजको नचमा केही परिवर्तन ल्याएको छ । नयाँ सिरिजको प्रो र प्रो म्याक्स मोडेलमा नच हटाइएको छ ।

फेस आईडी सेन्सर र क्यामेराका लागि भने पिल सेप्ड (क्याप्सुल आकारको) नच समावेश छ । तर, आईफोन १४ र आईफोन १४ प्लस मोडेलमा भने पहिलेको जस्तै नच हुने बताइएको छ ।

६.७ इन्च डिस्प्ले रहेको मोडेललाई आईफोन १४ प्लस नाम दिइएको छ । आईफोन १४ को बेस मोडेल र प्लस मोडेलको आकार एउटा रहनेछ भने प्रो र प्रो म्याक्स मोडेलको आकार अर्को हुनेछ ।

नयाँ सिरिजमा एप्पलको लाइटिनिङ पोर्ट समावेश गरिएको छ । सम्भवतः आईफोनको लाइटनिङ पोर्ट प्रयोग भएको यो नै अन्तिम सिरिज हुनेछ । 

क्यामेरा

नयाँ सिरिजमा भएको क्यामेराको बारेमा विस्तृत रूपमा कुरा गर्नुपर्दा आईफोन १४ को बेस मोडेलमा डुअल (दुई ओटा) क्यामेरा समावेश हुनेछ, जुन १२ मेगापिक्सेलका रहनेछन् ।

क्यामेरा सेन्सरका साथै एप्पलले फोटोनिक इन्जिन फिचर प्रयोग गरेर लो लाइट पर्फमेन्समा सुधार ल्याएको छ । त्यस्तै प्रो र प्रो म्याक्स मोडेलमा भने तीन ओटा क्यामेरा रहनेछन्, जसमा वाइड, अल्ट्रा वाइड र टेलिफोटो लेन्स समावेश छन् ।

अन्य फिचरहरू आईफोन १३ को प्रो र प्रो मोडेलसँग मिल्न गए पनि यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । प्रो मोडेलमा भएको ४८ मेगापिक्सेलकाे क्यामेरा सेन्सरका माध्यमबाट हामी एटके (8k) भिडिओ खिच्न सक्छौँ ।

त्यस्तै एप्पलले सेल्फी क्यामेरामा पनि केही सुधार ल्याएको छ ।

फिचरहरू

आईफोन १४ सिरिजको कुरा गर्नुपर्दा, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स ए१६ बायोनिक चिपद्वारा सञ्चालित छन् । त्यस्तै आईफोनको बेस मोडेल र प्लस मोडेलमा भने पहिले जस्तै ए१५ चिप समावेश छ ।

यी मोडेलमा किन ए१६ चिप प्रयोग नभएको भन्नेबारे एप्पलले कुनै जानकारी दिएको छैन । एप्पलले फोनलाई आकर्षित बनाउन प्रो र प्रो म्याक्स मोडेलमा पिल आकारको क्यामेरा आकार समावेश गरेको छ ।

तर, बेस मोडेल र प्लस मोडेलमा भने अन्य सिरिज जस्तै नच समावेश छ । प्रो र प्रो म्याक्स मोडेलमा भएको नचको फिचरलाई कम्पनीले डाइनामिक आइल्याण्डको नाम दिएको छ ।

एप्पलले परिवर्तन नगरेको अर्को कुरा हाे, यसको डिस्प्ले । आईफोन १४ र आईफोन १४ प्लसमा ६० हर्जको डिस्ले रहेको छ भने बाँकी दुई आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स मोडेलमा १२० हर्ज रिफ्रेस रेटको डिस्प्ले समावेश छ ।

यस सिरिजका सबै फोनमा ओएलईडी स्क्रिन छ । त्यसैगरी आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा २००० निट्सको ब्राइटनेस रहेको छ, जुन आईफोन १३ को तुलनामा दुई गुणा बढी हो ।

कम्पनीले गरेको सबैभन्दा रोचक निर्णय त के हो भने यसले भौतिक सिम कार्ड ट्रे निकालेको छ । यसमा अब ई-सिम प्रयोग गर्न सकिनेछ ।

प्रो र प्रो म्याक्स मोडेलमा १ टीबीसम्मको स्टोरेज क्षमता र डब्ली भिजन रहेको छ ।

यस सिरिजमा फेस आईडी बायोमेट्रिस, म्याग सेफ चार्जिङ एक्सेसिरिज, भिडिओ स्टेबलाइजेसन, फाइभजी सपोर्ट, वायरलेस चार्जिङ, क्रयाश डिटेक्सन, अत्यावश्यक परेको बेला स्याटलाइट नेटवर्क प्रयोग गर्ने र अलवेज-अन डिस्प्ले जस्ता फिचर समावेश छन् ।

मूल्य

नयाँ सरिजिमा के कस्ता विशेषता छन् भन्ने बुझिसकेपछि अब कुरा गरौँ यसको मूल्यबारे । एप्पलले आईफोन १४ को मूल्य करिब एक लाख एक हजार रुपैयाँ (७९९ डलर) तोकेको छ ।

त्यस्तै आईफोन १४ प्लसको मूल्य करिब एक लाख १३ हजार ८०० रुपैयाँ (८९९ डलर) रहेको छ ।

त्यसैगरी आईफोन १४ को प्रो र प्रो म्याक्स मोडेलको मूल्य क्रमशःः करिब एक लाख २६ हजार ५०० रुपैयाँ (९९९ डलर) र करिब एक लाख ३९ हजार २०० रुपैयाँ (१०९९ डलर) रहेको छ ।

यदि तपाईँ आफूलाई आफोन १४ को बेस मोडेल वा प्लस मोडेल खरिद गर्न चाहनुहुन्छ भने तपाईँले मिडनाइट, स्टारलाइट, निलो, रातो र सेतो रङ्गमा पाउन सक्नुहुन्छ । त्यस्तै प्रो र प्रो मोडेल ब्ल्याक, गोल्ड, सिल्भर र बैजनी रङ्गमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३