काठमाडौ। नेपाली बजारमा भारतीय ब्राण्डको आर्चर स्कुटर भित्रिएको छ ।
सुन्दर ट्रेडर्स प्राइभेट लिमिटेडले मंगलबार गरेको एक कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो स्कुटर सार्वजनिक गरे ।
कम्पनीले मंगलबारदेखि नै स्कुटर बिक्रीका लागि खुला गरिएको जनाएको छ । प्रति घण्टा अधिकतम ४५ किलोमिटरको गतिमा गुड्नसक्ने यो स्कुटरमा ४८ भोल्टेजको लिथियम ब्याट्री जडान गरिएको छ ।
यसले ३ हजार ५ सय आरपीएममा ५.४४ किलोवाट पावर र २९ एनएम टर्क जेनेरेट गर्छ । ब्याट्री क्षमता १० किलोवाट प्रति घण्टा रहेको स्कुटरको ब्याट्री फुल चार्ज गर्न ३ घण्टा ४५ मिनेट लाग्छ ।
त्यस्तै एक पटकको सिङ्गल चार्जमा २०० किलोमिटर सम्म गुडाउन सकिने कम्पनीकाे दाबी छ ।
तीन बर्षको वारेन्टी दिइएको यस स्कुटरमा दुई जना सहज रुपमा यात्रा गर्न सकिन्छ । कम्पनीले यसको मूल्य २ लाख ४० हजार निर्धारण गरेको छ ।