काठमाडौं । खुकुरी प्रयोग गरी एटीएम तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
प्रहरीले पोखरा महानगरपालिका-६ लेकसाइड बाराही चोकस्थित एनएमबि बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई पक्राउ गरेको हो ।
टेकपानासँग कुरा गर्दै जिप्रका कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले भने, "एटीएम फुटाइरहेको भन्ने खबर प्राप्त भएपछि केन्द्रबाट पक्राउ गर्न निर्देशन आएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टाेलीले गत राति (साेमबार) पक्राउ गरेको हो ।"
कुमाललाई खुकुरी सहित एटीएम फुटाउँदै गरेको अवस्थामा पक्राउ गरिएको खड्काले जानकारी दिए ।