close

मतदान स्थलमा मोबाइल तथा क्यामेरा लान रोक

टेकपाना टेकपाना

कात्तिक ४, २०७९ १२:५३

मतदान स्थलमा मोबाइल तथा क्यामेरा लान रोक

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ को मिति नजिकिँदै छ । उम्मेदवार, राजनीतिक दल तथा सर्वसाधारण प्रचारप्रसारमा व्यस्त छन् । यसैलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाताले पालना गर्नुपर्ने आचरणहरूको सूची सार्वजनिक गरेको छ ।

विशेषगरी अहिले प्रायः सेवा डिजिटलाइज हुने क्रम जारी छ । आफूसँग सम्बन्धित विभिन्न प्रमाणपत्र माेबाइलमा बोकेर हिँड्न सक्छौँ । नेपाल सरकारले तयार पारेको नागरिक एपमा मतदाता परिचयपत्र लिङ्क गर्ने सुविधा छ । मतदान गर्न जाँदा धेरैलाई त्यही मतदाता परिचय पत्र देखाएर भोट हाल्न सकिन्छ भन्ने लाग्नसक्छ ।

निर्वाचन आयोगले भने मतदान केन्द्रमा मतदान गर्न जाँदा मोबाइल, क्यामेराजस्ता विद्युतीय उपकरण साथमा लिएर जान नपाइने नियम ल्याएकाे छ । यसको अर्थ मतदाताले मतदान केन्द्रमा मोबाइल फोन वा क्यामेरा प्रयोग गर्न पाउँदैनन् ।

यसैगरी विद्युतीय माध्यम जस्तै; फेसबुक, मेसेन्जर, ट्वीटर, टिकटक, ह्वाट्सएप, भाइबर तथा इन्स्टाग्राममा कसैको पक्ष वा विपक्षमा तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने आयोगकाे सूचनामा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०७९ १३:२९