काठमाडौं । फेसबुकको शेयर, ट्याग र कमेन्टमा पनि निर्वाचन आयोगको निगरानी राखेको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई लक्षित गर्दै निर्वाचन आयोगले प्रकाशन गरेको आचारसंहितामा उक्त कुरा उल्लेख छ ।
यसअन्तर्गत सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आयोगले अनुरोध गरेको छ । विशेषगरी चुनावको समयमा कुनै पनि प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने आयोगले उल्लेख गरेकाे छ ।
साथै सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्नेजस्ता भ्रामक टिकाटिप्पणी गर्न नहुने बताएको छ ।
यसैगरी निर्वाचनलाई प्रभाव पार्न सामाजिक सञ्जालका फेक अकाउन्ट तथा फेक वेबसाइट नबनाउन आयोगले अनुरोध गरेको छ । निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामाग्री उत्पादन गर्न वा अरुले प्रकाशन गरेका त्यस्ता सामाग्री शेयर गर्नु हुँदैन ।
त्यस्तै आयोगले उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षण परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने भनेको छ ।