close

तपाईँलाई कस्तो लाग्यो युट्युबको नयाँ स्वरूप ?

टेकपाना टेकपाना

कात्तिक १५, २०७९ १३:९

तपाईँलाई कस्तो लाग्यो युट्युबको नयाँ स्वरूप ?

काठमाडौं । गुगलको मातृ कम्पनी अल्फाबेटले युट्युबको डिजाइनलाई परिमार्जन गरेको छ । अक्टोबर २४ मा युट्युबले आफ्नो ब्लगपोस्टमार्फत नयाँ अपडेट ल्याउन लागेको जानकारी दिएको थियो । सबैभन्दा पहिले युट्युबको वेब भर्सनमा देखिएको नयाँ डिजाइन अहिले मोबाइल एपमा पनि देखिन थालेको छ ।

आफ्नो १७औँ वार्षिक उत्सवको अवसरमा युट्युबले नयाँ डिजाइन र युजर इन्टरफेस (यूआई) उपलब्ध गराउने बताएको थियो । सोही अन्तर्गत प्रयोगकर्ताको एक्सपिरियन्सलाई बढावा दिन यूआई र डिजाइनमा परिवर्तन ल्याएको जनाएको छ । नयाँ डिजाइन र परिमार्जित यूआईले प्रयोगकर्तालाई युट्युबमा भिडिओ हेर्न सहज बनाउने युट्युबको विश्वास छ ।

भिडिओ प्लेयर पेज परिमार्जित

युट्युबले भिडिओ प्लेयर पेजको यूआई परिमार्जन गरेको छ । पहिले सबैभन्दा माथि भिडिओ बजिरहेको हुन्थ्यो । त्यसको तल भिडिओको टाइटल, त्यसभन्दा अझ तल लाइक, डिसलाइक, शेयर, डाउनलोड जस्ता अप्सन । त्यसभन्दा तल क्रियटरको नाम, सबस्काइबर सङ्ख्या देखाइएको हुन्थ्यो ।

नयाँ यूआईमा भने प्रयोगकर्तालाई डिस्टर्ब नहोस् भन्ने मनसायले ट्यागलाइनको कलर पनि कालो वा सेताे बनाएको छ । त्यस्तै सब्सक्राइबको बटन रातो कलरमा सजिएको देखिन्थ्यो भने अब तपाईँले प्रयोग गरिरहेको डार्क वा लाइट मोडअनुसार कालो र सेतोमात्र देखिनेछ ।

त्यस्तै नयाँ यूआईमा लाइक र डिस्लाइक बटन एक ठाउँमा, शेयरको आईकन छुट्टै ठाउँमा रहेको छ । भिडिओ प्लेयर सेक्सनको नयाँ यूआई प्रयोग गरिरहँदा एप वेब भर्सनमा प्रयोग गरिरहेको आभास हुन्छ ।

प्लेलिस्ट परिमार्जन

युट्युबले च्यानलको प्लेलिस्टको यूआई पनि परिमार्जन गरेको छ । पहिले कुनै पनि प्लेलिस्टमा जाँदा सबैभन्दा माथि प्लेलिस्टको नाम मात्र रहेको हुन्थ्यो भने अहिले प्लेलिस्टको फिचर फोटो पनि देखिन्छ ।

युट्युब च्यानलमा परिमार्जन

अब कुनै पनि युट्युब च्यानलबाट अपलोड भएका शर्ट्स, लाइभ वा भिडिओ छुट्टाछुट्टै सेक्सनबाट हेर्न सकिने भएको छ । उक्त सेक्सनमा पहिले अपलोड भिडिओ र लाइभ भिडिओको अप्सन मात्र रहेको थियो ।

त्यस्तै तपाईँले आफूले भिडिओ हेरिरहने युट्युब च्यानलको नाम सर्च गर्नुभयो भने सबैभन्दा माथि सबै भिडिओ, नहेरेको भिडिओ, हेरेको भिडिओ, पछिल्लो समय अपलोड भएको भिडिओ हेर्न सकिन्छ । त्यस्तै युट्युबको होमपेजमा रहेको माथिपट्टिको भागमा विभिन्न किसिमका भिडिओ सजेसनमा देख्न सकिने फिचर एड गरिएको छ ।

नयाँ यूआईमा तपाईँका लागि नयाँ भिडिओ, लाइभ भिडिओ, म्युजिक, तपाईँले सब्स्क्राइब गरेका च्यानलले पछिल्लो समय अपलोड गरेका भिडिओ, र हेरिसकेका भिडिओको छुट्टाछुट्टै सेक्सन समावेश गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०७९ १५:५३