close

भिडिओ गेमका पात्रको कथा लेखेरै महिनाको १३ लाख कमाइ

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ १६:२३

भिडिओ गेमका पात्रको कथा लेखेरै महिनाको १३ लाख कमाइ

काठमाडाैं । कथा लेख्‍नु । त्याे पनि भिडिओ गेमका पात्रबारे । यसबाट पैसा कमाउन सकिएला त ? अवश्य । अमेरिकाकाे न्यू याेर्कमा रहेकाे बारुच कलेजमा अध्ययनरत १९ वर्षीय आराश लाहिजानीले यही काम गरेर महिनामा १० हजार डलर अर्थात् १३ लाख रुपैयाँभन्दा बढी कमाइ गरिरहेका छन् ।

लाहिजानी स्नातक तहका विद्यार्थी हुन् । उनका एक साथीले ‘ग्रान्ड थेफ्ट अटो’ गेमकाे पात्रकाे ब्याकस्टाेरी लागि फाइभर (फ्रिल्यान्सिङ प्लेटफर्म)मा लगभग ७० डलर तिरेका थिए । यसबाट लाहिजानीलाई महसुस भयाे कि, भिडिओ गेमका पात्रहरुकाे ब्याकस्टाेरी लेखेर पनि पैसा कमाउन सकिन्छ ।

त्यसपछि उनले यसबारे खाेज तथा अनुसन्धान गर्न थाले । कमाउन सकिने निश्चित भएपछि उनले यस कामलाई ‘साइड हस्टल’ अर्थात् पार्ट टाइम कामका रुपमा सुरु गर्ने याेजना बनाए ।

यसकाे करिब एक हप्तापछि उनी अप्रिल २०२१ मा फाइभरमा जाेडिए । हालसम्म उनले भिडिओ गेम ग्रान्ड थेफ्ट अटोका ४०० बढी पात्रका ब्याकस्टाेरी लेखेर करिब ६२ हजार ४०० डलर अर्थात् करिब ८२ लाख रूपैयाँ कमाइसकेका छन् ।

हुन त व्यावसायिक लेखकले भिडिओ गेम स्टुडियोहरूका लागि पात्र र तिनकाे कथा लेख्‍ने गरेका छन् । तर यसकाे ठीक विपरीत लाहिजानीले ग्रान्ड थेफ्ट अटो गेम खेल्ने प्रयाेगकर्ताका लागि कथा लेख्ने गरेका छन् ।

यस गेमकाे सर्भरमा जाेडिनका लागि खेलाडीहरुले पात्रहरुका बारेमा ब्याकस्टाेरीहरु लेखेर पठाउनुपर्छ । हाल लाहिजानीका ग्राहकहरु ५० वर्षका देखि १५ वर्षका किशाेरसम्म छन् । तर उनी विद्यार्थीका रूपमा फ्रिल्यान्सिङ गरिरहेका कारण कमाइकाे दर स्थिर हुँदैन । अबकाे उनकाे याेजना लेखाइबाट थप कमाइ गर्ने रहेकाे छ । 

लाहिजानी आफ्नाे लेखनकला विद्यालयमा पढाइ हुने अंग्रेजीका कक्षाहरुले नबनेकाे तर्क गर्छन् । उनी बारुच कलेजमा पूर्ण छात्रवृत्तिसहित स्टाटिस्टिक्स र क्वान्टिटेटिभ माेडलिङ अध्ययन गरिरहेका छन् ।

उनले आफ्नाे लेखनकलालाई विभिन्न भाषण सुनेर र पढेर तिखारेकाे बताउँछन् । उनी विद्यालयमा कक्षाकाे प्रमुख र कम्प्युटर साइन्स क्लबकाे संस्थापक हुन् । याेसँगै उनले ‘विद्यालय सुरक्षा’का लागि नासाउ काउन्टी जिल्लाका सरकारी वकिलको कार्यालयसँग सहकार्य गरेका छन् ।

यी सबैमा काम गर्दा कुनै पनि विषयमा केन्द्रित भएर बाेल्न सिकेकाे उनी बताउँछन् । यसकाे फाइदा आफ्नाे लेखनीमा समेत भएकाे उनी विश्वास गर्छन् । फाइभरमा उनकाे जिम्मीक्यानराइट नामकाे अकाउन्ट छ ।

उनले आफ्नाे कामका लागि ४५ देखि १९५ डलरसम्म लिने गरेका छन् । कुनै पात्रबारे लेख्दा ग्राहकलाई त्यससँग सम्बन्धित कुराहरु साेध्ने गरेकाे उनी बताउँछन् । 

लेख्दा उनलाई अल्छी लाग्याे भने ‘अ वेदरम्यान’ सिरिज हेर्ने गर्छन् । यसबाट कथा लेख्दा थप कुराहरु फुर्ने उनी सुनाउँछन् ।

हरेक पात्रबारे कथा लेख्दा उनीहरुकाे जीवनमा ठूलाे प्रभाव पारेकाे घटनाहरुका बारेमा लेख्छन् । त्याे घटनाबाट कसरी उनीहरु लस सान्तोस भन्ने ठाउँमा पुग्छन् भन्ने कुरा उनले स-विस्तार लेख्ने गरेका छन् । याे ठाउँ एक काल्पनिक ठाउँ हाे, जहाँ ग्रान्ड थेफ्ट अटो गेमकाे सेट बनाइएकाे छ ।

जिप रेक्रुटरका अनुसार भिडिओ गेम स्टुडियाेका लागि कथा लेख्ने पूर्णकालीन लेखकले औसतमा वार्षिक ७० लाख रूपैयाँसम्म कमाइ गर्छन् । यदि लाहिजानीकाे हालकाे मासिक १३ लाख रुपैयाँ कमाइ वर्षभर हुन्छ भने उनले त्यसकाे दुई गुणा कमाइ गर्ने गर्छन् ।

आफ्नाे कमाइलाई उनी परिवार र अन्य व्यवहारिक कामका लागि खर्च गरिरहेका छन् । उनले लेखेर नै राम्राे कमाइ गरिरहेका भएपनि यसैलाई भविष्य भने बनाएका छैनन् । लेखाइलाई भविष्य बनाउँदा आर्थिक रुपमा धेरै जाेखिम हुनसक्ने उनकाे शंका छ । तर लेखाइलाई  ‘साइड हस्टल’ भने बनाइराख्‍ने उनकाे याेजना छ । 

हालै मात्र उनलाई एक ग्राहकले उसकाे भतिजाको जन्मदिनको लागि एक पुस्तक लेख्‍न अनुराेध गरे । तर लाहिजानीले त्याे प्रस्तावलाई स्वीकारेनन् । यस कुराले भने उनलाई आफ्नो लेखन सीप भिडिओ गेममा मात्र सीमित नगर्ने कुरा सिकाएकाे छ ।

अब उनी विद्यालयमा आवश्यक पर्ने भर्नासम्बन्धी निबन्ध कसरी लेख्‍ने भन्नेबारे कक्षा लिने याेजनामा छन् । हालैमात्र यस कुराकाे जानकारी उनले फाइभर अकाउन्टमा लेखेका थिए । 

-सीएनबीसी

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ १७:५