close

मोबाइलबाट यसरी सजिलै बनाउनुहोस् स्तरीय पासपोर्ट साइज फोटो

टेकपाना टेकपाना

कात्तिक १८, २०७९ २१:५९

मोबाइलबाट यसरी सजिलै बनाउनुहोस् स्तरीय पासपोर्ट साइज फोटो

काठमाडौं । पासपोर्ट साइजको फोटो सरकारी तथा विभिन्न निजी प्रयाेजनका लागि आवश्यक पर्छ । जमाना सूचना तथा प्रविधिको भएपनि प्रायः अवस्थामा हामीलाई भौतिक पासपोर्ट साइजको फोटो नै चाहिन्छ । त्यस्तै कतिपय कामका लागि हामी अनलाइनबाटै पासपोर्ट साइजकाे फोटो पठाएर आफ्नो काम गर्न सक्छौँ । विशेषतः कुनै अनलाइन फाराम भर्दा हामीलाई पासपोर्ट साइजको फोटो आवश्यक पर्छ ।

अहिले हामीमध्ये प्रायःको हातमा स्मार्टफोन छ । यसबाट हामी प्रष्ट फोटो खिच्न सक्छौँ । हामीले फोनबाट खिचेका त्यस्ता फोटो पासपोर्ट फोटोका लागि उपयुक्त नहुन सक्छन् । त्यसमा पनि हामीले खिचेका फोटोको साइज पासपोर्ट फोटो अनुकूल नहुन सक्छ ।

फोनको क्यामेरामा डिफल्ट रूपमा पासपोर्ट साइजका लागि भनेर छुट्टै विकल्प समावेश गरेको हुँदैन । त्यस्तै हामीले लगाएका लुगाले हाम्रो पासपोर्ट साइजको फोटोमा केही वाधा पुर्‍याएको हुनसक्छ ।

यसैगरी हामी सबैसँग घरमा प्लेन ब्याकग्राउण्ड (फोटोको पछाडिको पृष्ठभूमि) हुँदैन । जसले गर्दा हामीले खिचेको फोटो पासपोर्ट फोटोका लागि उपयुक्त नहुन सक्छ । यही समस्याले गर्दा कैयौँ व्यक्तिहरू साइबरमा गएर अनलाइन फाराम भर्न बाध्य छन् ।

यही समस्यालाई न्यूनीकरण गर्न हामी एक उपयोगी टुलबारे चर्चा गर्दै छाैं, जसको नाम हो, कटआउट प्रो

यस वेबसाइटका माध्यमबाट कुनै पनि फोटोलाई पासपोर्ट साइजको फोटोका लागि उपयुक्त बनाउन सकिन्छ । यस साइटबाट फोटोको साइज मिलाएर, नयाँ लुगा लगाएर वा ब्याकग्राउन्ड परिवर्तन गरेर पासपोर्ट साइजका लागि उपयुक्त फोटो बनाउन सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् ।

-त्यसपछि अपलोड फोटो (Upload Photo) को अप्सनमा क्लिक गर्नुहोस् ।

-अब ग्यालेरीबाट पासपोर्ट साइजमा परिवर्तन गर्नुपर्ने फोटो छान्नुहोस् ।

-त्यसपछि केहीबेर पर्खनुहोस् । फोटो स्क्रिनमा देखिसकेपछि आफूलाई आवश्यक परेको फोटो साइज छान्नुहोस् ।

-फोटोको तल रहेको दोस्रो आइकन (ब्याकग्राउन्ड फिल) मा गएर आफूलाई आवश्यक परेको ब्याकग्राउन्ड कलर छान्नुहोस् ।

-त्यहीँ तल भएको तेस्रो लुगाको आइकनमा ट्याप गर्नुहोस्, त्यसपछि तपाईँलाई आवश्यक पर्ने कुनै पनि लुगा छान्नुहोस् । (महिला, पुरुष र बालबालिकाका लागि छुट्टाछुट्टै लुगा उपलब्ध गराइएको हुन्छ ।)

 

-लुगा छानिसकेपछि तपाईँलाई लगइन गर्न भनेको हुन्छ, जसमा आफूले प्रयोग गरिरहेको फेसबुक वा जीमेल अकाउन्टबाट साइनअप गर्नुपर्ने हुन्छ ।

-साइनअप गरिसकेपछि तपाईँले जुनसुकै लुगा पनि छान्न पाउनुहुन्छ ।

-अब दायाँपट्टि फोटोभन्दा तल रहेको डन (Done) को अप्सनमा ट्याप गर्नुहोस् ।

-त्यसपछि डाउनलोड एचडी (Download HD) को अप्सनमा ट्याप गरेर फोटो डाउनलोड गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०७९ २१:५९