पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि ट्वीटरले लगाएको प्रतिबन्ध फुकाउने मस्कको घोषणा
मंसिर ४, २०७९ १०:३३
काठमाडौं । एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई ट्वीटरमा लागेको प्रतिबन्ध फुकाउने घोषणा गरेका छन् । व्यक्तिगत ट्वीटर 'पोल' (मत सर्वेक्षण) मार्फत मस्कले आफ्नो उक्त निर्णयलाई न्यायोचित ठहर्याएका छन् ।
यससँगै ट्रम्पको ट्वीटर अकाउन्ट (realDonaldTrump) र त्यसमा रहेका ट्वीटहरू पुनः पूर्ण रूपमा देख्न सकिने भएको छ । सामाजिक सञ्जाल ट्वीटर खरिद गरे लगत्तै मस्कले 'फराकिला तथा विविध दृष्टिकोण'सहित कन्टेन्ट मोडेसेन काउन्सिल तयार नभएसम्म कुनै पनि अकाउन्ट माथिको प्रतिबन्ध नहटाउने भनेका थिए ।
तर त्यसको साटो मस्कले शुक्रबार साँझ आफ्नो व्यक्तिगत अकाउन्टमा पोल सञ्चालन गरे । "पूर्व राष्ट्रपति ट्रम्पलाई पुनस्थापना गर्न," भन्दै उनले त्यसको पक्ष र विपक्षमा बटन छान्न लगाएका थिए । "भक्स पोपुली, भक्स डेई," उनले फलोअप ट्वीटमा भनेका छन्, ल्याटिन भाषामा त्यसको अर्थ हुन्छ, "जनताको आवाज भगवानको आवाज हो ।"
The people have spoken.
— Elon Musk (@elonmusk) November 20, 2022
Trump will be reinstated.
Vox Populi, Vox Dei. https://t.co/jmkhFuyfkv
मत सर्वेक्षणमा ५२ प्रतिशतले हुन्छ भनेका छन् भने ४८ प्रतिशतले हुन्न भन्ने पक्षमा मत दिएका छन् । त्यसमध्ये कति बोट रहेका थिए भन्ने कुरा स्पष्ट छैन; मस्क आफैले उक्त पोलमा बोटमार्फत आक्रमण भएको उल्लेख गरेका थिए ।
त्यसो त २० प्रतिशत अकाउन्ट फेक तथा बोट रहेको भन्दै मस्क स्वयम् ट्वीटर खरिद गर्ने प्रक्रियाबाट बीचमै बाहिरिन खोजेका थिए । यति मात्र होइन, मस्कले रुस र युक्रेनको विषयमा गरेको विवादास्पद पोलको नतिजालाई लिएर उनले त्यसमा बोट जिम्मेवार भएको उल्लेख गरेका थिए ।
एलन मस्कका अनुसार १३ करोड ४० लाख जनाले उक्त पोल हेरेका थिए, तर एक करोड ५० लाख जनाले मात्रै त्यसमा सहभागिता जनाएका थिए । मस्कले साच्चिकै ट्वीटर पोलमार्फत ट्रम्पमाथिको प्रतिबन्ध हटाउने निर्णय लिएका हुन् अथवा त्यस अघि नै उनको दिमागमा त्यस सम्बन्धि निर्णय बनिसकेको थियो भन्ने कुरा तपाईँ हामी कसैलाई थाहा छैन ।
यस अघि आफ्ना फलोअर माझ ट्वीटर पोल गरेर मस्कले नोभेम्बर २०२१ मा टेस्लाको १० प्रतिशत शेयर बिक्री गरेका थिए । त्यसबेला उनले लेखेका थिए, "परिणाम जस्तो आउने छ, म त्यसै अनुसार गर्नेछु ।"
पछि द वाल स्ट्रिट जर्नलले सेप्टेम्बर महिनामै मस्कले इन्साइड ट्रेडिङको योजना अनुरूप उक्त निर्णय लिइसकेको खुलासा गरेको थियो । जनवरी ६ मा भएको क्यापिटल आक्रमणका क्रममा ट्रम्पको भूमिकालाई मध्यनजर गर्दै भविष्यमा हिंसात्मक गतिविधिलाई थप प्रोत्साहन गर्नसक्ने चिन्ताका बीच ट्वीटरले उनीमाथि ८ जनवरी २०२१ मा प्रतिबन्ध लगाएको थियो ।
त्यसबेला ट्वीटरले ट्रम्पको सन्देशले हिंसात्मक गतिविधिलाई मलजल गर्न तथा प्रोत्साहन गर्न नहुने आफ्नो नीति अलङ्घन गरेको बताएको थियो । त्यसबेला देखि ट्वीटरमा ट्रम्पको अकाउन्टमा ट्वीटको साटो सस्पेन्डेड लेखिएको देखिन्छ ।
ट्वीटर खरिद गर्ने छिनाझप्टीपूर्ण प्रक्रियासँगै मस्कले ट्रम्पको अकाउन्ट पुनःस्थापित गर्ने बताएका थिए । "मलाई लाग्छ कि डोनल्ड ट्रमप्लाई प्रतिबन्ध लगाउनु उचित थिएन," मस्कले गत मे महिनामा भनेका थिए ।
"मलाई त्यो गलत थियो लाग्छ, किन कि देशको ठूलो हिस्सा त्यसमा संलग्न थियो र परिणाम स्वरूप ट्रम्पसँग आवाज नै भएन । त्यसैको जवाफ अब उनीमाथिको प्रतिबन्ध हटाउनु पर्छ भन्ने लाग्छ ।"
यद्यपि ट्रम्पलाई ट्वीटरमा फर्किएर आउन आमन्त्रित गरिएको छ वा छैन भन्ने कुरा स्पष्ट भइसकेको छैन । किन भने ट्वीटरको प्रतिबन्धमा परेपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल सञ्चालनमा ल्याएका छन् ।
पुनः ट्वीटरमा फर्किन मस्कले गरेको ट्वीटमा जवाफ दिँदै ट्रम्पले आफू आफू ट्रुथ सोसलमै रहने बताएका छन् । "ट्वीटर निकै बोरिङ भइरहेको छ । ट्वीटरमा आउने राम्रा आवाजमाथि उनीहरू कठोर भइरहेका छन् ।"
पछिल्लो अध्यावधिक: मंसिर ४, २०७९ ११:५
