close

सरकारले एनसेललाई कहिले देला फाइभजी परीक्षणको अनुमति ?

टेकपाना टेकपाना

मंसिर २८, २०७९ ८:४३

सरकारले एनसेललाई कहिले देला फाइभजी परीक्षणको अनुमति ?

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड फाइभजी परीक्षणका लागि सरकारको अनुमति कुरिरहेको छ । प्राविधिक रूपमा कम्पनी तयार रहे पनि सरकारको अनुमति नपाउँदा त्यसतर्फ अगाडि बढ्न नसकिएको एनसेलले जनाएको छ ।

प्रविधि पत्रकार मञ्च र एनसेलको संयोक्त आयोजनामा मङ्गलबार राजधानीमा भएको एक कार्यक्रममा एनसेलका प्रमुख सूचना अधिकारी विशालमणि उपाध्यायले फाइभजी परीक्षण गर्न आफूहरू प्राविधिक रूपमा तयार रहेको बताए ।

"हामी फाइभजी परीक्षण गर्न प्राविधिक रूपमा तयार छौँ," उनले भने, "तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्पेक्ट्रम तथा स्वीकृति नदिएकाले परीक्षण मिति तय हुन सकेको छैन ।"

उपाध्यायले कम्पनीले नेपाल टेलिकमभन्दा पहिले नै एनसेलले फाइभजी परीक्षणका लागि अनुमति मागेको स्मरण गरे । “तर हालसम्म पनि हामीले अनुमति पाउन सकेका छैनौँ,” उनले भने ।

नेपाल टेलिकमले फाइभजी परीक्षण सुरु गरिसकेको अवस्थामा पनि एनसेलले हालसम्म त्यसको अनुमति पाउन सकेको छैन ।

"सञ्चार मन्त्रालय अन्तर्गत रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिबाट परीक्षणको अनुमति पाए लगत्तै परीक्षण सुरु गरेर वितरण थाल्छौँ," उनले थपे ।

फाइभजी इन्टरनेट व्यक्तिगत प्रयोजनभन्दा पनि व्यावसायिक प्रयोजनका लागि उपयोगी हुने उनको भनाइ थियो । सञ्चार मन्त्रीको अध्यक्षतामा रहने उक्त समितिको बैठक नयाँ सरकार गठन भएपछि मात्रै बस्नेछ । यसर्थ एनसेलले तत्कालै फाइभजी परीक्षणको अनुमति पाउने सम्भावना न्यून रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०७९ ८:४३