close

ग्लोबल ई-स्पोर्ट्स गेम २०२२ मा सहभागी हुन नेपालबाट पब्जी र डोटा टिम टर्की प्रस्थान

टेकपाना टेकपाना

मंसिर २८, २०७९ १७:४

ग्लोबल ई-स्पोर्ट्स गेम २०२२ मा सहभागी हुन नेपालबाट पब्जी र डोटा टिम टर्की प्रस्थान

काठमाडौं । ग्लोबल ई-स्पोर्टस फेडेरेसनको आयोजनामा हुन लागेको ग्लोबल ई-स्पोर्ट्स गेम २०२२ को लागि नेपाली डोटा तथा पब्जी टिम बुधबार टर्की प्रस्थान गरेको छ । प्रतियोगितामा नेपालबाट पब्जी टिम ‘डीआरएस गेमिङ’ र डोटा टिम बड्सले सहभागिता जनाउनेछ ।  

डिसेम्बर १५ देखि १८ सम्म टर्कीको इस्तानबुलमा हुने प्रतियोगिताको लागि नेपाली टिम टर्कीतर्फ लागेको हो ।  एसिया स्तरको छनोट पार गर्दै नेपाली टिमले यो यात्रा तय गरेका हुन् । नेपाली टिमले टर्कीमा अब सेमिफाइनल र फाइनलका खेल खेल्ने नेपाल ई-स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज डंगोलले बताए ।

यो प्रतियोगितामा डोटाको खेल बिहिवार र  पब्जीको खेल शुक्रबार देखि सुरु हुँदैछ । प्रतियोगितामा सहभागी टिमले सबै खेलमा ‘टिम नेपाल’ को नामले खेल्नेछन् ।

यो प्रतियोगितामा सेमिफाइनल र फाइनल गरेर नेपाली पब्जी टिम डीआरएसले कुल १० खेल खेल्नेछ । यसभन्दा अगाडी पब्जी मोबाइल ग्लोबल च्याम्पिएनसिप (पीएमजीसी) मा छनोट भइसकेको डीआरएसलाई यो प्रतियोगिता चुनौती सँगै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अर्को अवसर पनि हुने डंगोलले बताए । 

यो प्रतियोगितामा पब्जी मोबाइल, डोटा-टु, स्ट्रेट फाइटर भी र प्रो इभोलुसन सकर (पेस) मा प्रतिस्पर्धा हुँदैछ । नेपालले भने पब्जी र डोटामा मात्र भाग लिँदैछ । स्ट्रेट फाइटर भी र प्रो इभोलुसन सकर (पेस) का लागि नेपालबाट खेलाडी नभएका कारण सहभागिता जनाउन नसकिएको डंगोलको भनाइ छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर २८, २०७९ १७:६