काठमाडौं । चलचित्र निर्देशक एवं कलाकार निश्चल बस्नेतसम्बन्धी एउटा भिडिओ क्लिप केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जहाँ बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को नमस्कार नफर्काएको जस्ताे देखिन्छ ।
सोही क्लिपलाई आधार बनाउँदै उनीमाथि गालीको ओइरो लागेको छ । विशेषगरी टिकटकमा गालीगलौज बढ्न थालेपछि बस्नेतले यसको खण्डन गर्न फेसबुक पोस्ट गरेका छन् ।
उनी लेख्छन्, "बालेनले गरेको नमस्कार मैले नफर्काएर इग्नोर गरेँ भन्दै टिकटकमा एउटा भिडिओ भाइरल हुँदै रैछ । साथीभाइ र आफन्तले पनि प्रश्न गर्न थाले, के गरेको तैंले भन्दै ? त्यही भएर लेख्दैछु ।"
वास्तवमा अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल भिडिओ स्थानीय तहको निर्वाचन हुनुअघि एक कार्यक्रममा खिचिएकाे भिडिओकाे एउटा छाटाे दृश्य हो । जहाँ ‘चिसाे एस्ट्रे’ नामकाे चलचित्रकाे प्रिमियर शाेका लागि बालेन, निश्चलसहित विभिन्न कलाकार र सञ्चारकर्मी पुगेका थिए ।
कार्यक्रममा बालेनले अन्य व्यक्तिहरूलाई चिनजान तथा भेटघाट गरिरहेका थिए भने अर्कोतर्फ निश्चल पनि भेटघाटमा व्यस्त थिए । त्यही समयमा खिचिएकाे भिडिओ क्लिप अहिले भाइरल भएकाे छ ।
वास्तवमा त्यतिबेला बालेनले निश्चललाई नमस्कार नै गरेका थिएनन् । उनीहरूकाे हाउभाउ हेर्दा क्लिपमा देखिएकाे दृश्यअघि नै उनीहरूबीच भेट भइसकेकाे थियाे । 'राताे खुर्सानी' नामकाे युट्युब च्यानलमा गत मार्च १६ मा अपलाेड भएकाे भिडिओमा यो दृश्य हेर्न सकिन्छ ।
"कसैको चरित्रहत्या गर्न कति सजिलो भाको रैछ आजकल," बस्नेत फेसबुकमा लेख्छन्, "भिडिओ क्लिप निकाल्यो, आफूलाई मन लागेको टेक्स्ट लेख्यो अनि सुरु हुन्छ खेला । 'खाते काले, चुतिया, रेस्पेक्ट गर्न नसक्ने *जी , तेरो फिल्म बहिष्कार गर्नुपर्छ, यस्ता पनि कलाकार रे !! यस्तै अनेकौं, अझ कडा शब्दहरू ।"
सत्य नुबुझ्नुभन्दा पनि अरूको लहलहमा लाग्दै अनावश्यक गाली गर्नेहरूलाई निश्चलले गाली गर्न पाएपछि पछाडि हट्नु हुन्न है भन्दै व्यङ्ग्य गरेका छन् ।
निश्चलले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बालेनलाई काठमाडौं महानगरपालिकाको प्रमुख पदमा जिताउन सामाजिक सञ्जालमार्फत अपिलसमेत गरेका थिए ।