close

चितवनमा विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन

टेकपाना टेकपाना

पुस ३, २०७९ १५:१७

चितवनमा विद्युत प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चितवनको भरतपुरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले जिल्लामा दुई चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको उक्त चार्जिङ स्टेशन आज देखि सञ्चालनमा आएको छ । 

प्राधिकरणले करिब ९० लाख रुपैयाँको लागतमा उक्त चार्जिङ स्टेसन निर्माण गरेको प्राधिकरण चार्जिङ स्टेसनका प्रोजेक्ट इन्जिनियर सागर ज्ञवालीले जानकारी दिए । उक्त चार्जिङ स्टेसनमा एकपटकमा छ ओटा सम्म गाडी चार्ज गर्न सकिने उनले बताए । 

“नेपालमा पेट्रोलियम पदार्थको खपत कम गरी वातावरण मैत्री यातायात प्रणालीको विकासका लागि विद्युतीय चार्जिङ स्टेशनको निर्माण गर्ने योजना अनुरुप भरतपुरमा पनि चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो,” उनले बताए ।  

उक्त स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर जडान गरिएको उनले बताए । जसमा विद्युत आपूर्तिका लगि ५० केभीएको ट्रान्सफर्मरको साथमा अनलाइन बिलिङ सिष्टम पनि जडान गरिएको छ । फास्ट चार्जिङका लागि  स्टेसनमा ६० किलोवाटको डिसी चार्जर दिइएको छ । त्यस्तै २२ किलोवाटको एसी चार्जर समेत जडान गरिएको प्रोजेक्ट इन्जिनियर ज्ञवालीले जानकारी दिए ।

एउटा चार्जिङ स्टेसनमा एकैपटकमा ठूला बस सहित तीन ओटा सवारी साधन एकै साथ चार्ज गर्न सकिने छ । साना ठूला सबै चार्ज गर्न सकिने सो चार्जिङ स्टेसनमा एक देखि डेढ घण्टा सम्ममा फूल चार्ज हुने उनको भनाइ छ । 

पछिल्लो अध्यावधिक: पुस ३, २०७९ १५:२७