काठमाडौं । विदेशमा बसेर सामाजिक सञ्जालमार्फत महिलालाई ब्ल्याकमेल गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले रूपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ११ नौदिहवा घर भइ बैदेशिक रोजगारीमा रहेका ३१ वर्षीय विश्वनाथ कुर्मीलाई आज त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कुर्मी सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलासँग विगत छ महिनादेखि साथी बनेका थिए । कुरा गर्दै जाँदा कुर्मीले विभिन्न प्रलोभनमा पारी महिलालाई अश्लिलता प्रदर्शन गर्न लगाएका थिए । उनले भिडिओ कलबाट महिलाको फोटो तथा भिडिओ निकालेर राखेका थिए ।
कुर्मीले पीडित महिलाको आफन्त तथा साथीभाइलाई सोही भिडिओ तथा फोटो पठाएर मानसिक दुःख हैरानी दिदै आएका थिए । उनले सो भिडिओलाई लिएर अत्ति नै गर्न थालेपछि महिलाले साइबर ब्यूरोमा उजुरी दिएको साइबर ब्युरोका उप-निर्देशक एवमं प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।
पक्राउ परेका कुर्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमती लिई व्यूरोबाट खटिएको टोलीले दुबईबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले चार दिन म्याद थप गरेको छ ।