close

विदेशबाट साथमा ल्याएको फोन नेपालमा अब चल्छ कि चल्दैन, कति लाग्छ भन्सार ?

टेकपाना टेकपाना

पुस १२, २०७९ १७:२३

विदेशबाट साथमा ल्याएको फोन नेपालमा अब चल्छ कि चल्दैन, कति लाग्छ भन्सार ?

 

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो शुक्रबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा लागू गर्ने भएको छ । यसअघि परीक्षणको रूपमा सुरु भएको एमडीएमएसको सम्पूर्ण प्राविधिक तयारी सकिएसँगै नियामकले उक्त प्रणाली पूर्ण रूपमा लागू गर्ने भएको हो । 

यसको अर्थ अब पुस १५ पछि भन्सार घोषणा गरेर नल्याएका फोन एमडीएमएसमा दर्ता गर्न सकिने छैन । त्यसका लागि विदेशबाट फोन ल्याउँदा भन्सार विभागमा अनिवार्य भन्सार घोषणा गरेको हुनुपर्छ ।

१) आफूले विदेशमा चलाइरहेको फोन नेपाल ल्याउँदा एमडीएमएस दर्ता गर्नु पर्छ ?

फोन विदेशमै खरिद गरेर पहिलो पटक नेपालमा ल्याउँदै हुनुहुन्छ भने उक्त फोनमा नेपाली सिम प्रयोग गरेको १५ दिनभित्र दर्ता गरिसक्नुपर्छ । अन्यथा त्यसपश्चात् उक्त फोनमा नेपाली सिम चल्ने छैन । 

त्यस्तो फोन नेपालमा चल्ने बनाउन अनिवार्य रूपमा एमडीएमएस अर्थात मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टममा दर्ता गर्नु पर्छ । जसका लागि तपाईँलाई भन्सारको प्रज्ञापनपत्र आवश्यक हुन्छ ।

विदेशबाट आउँदा भन्सारमा रहेका कर्मचारीले नै भन्सार घोषणा गर्न लगाएर तपाईँलाई प्रज्ञापनपत्र दिन्छन् । यसरी आफूसँग रहेको एउटा फोनका लागि भन्सार घोषणा गर्दा तथा प्रज्ञापनपत्र लिँदा कुनै शुल्क लाग्दैन ।

२) विदेशबाट कति ओटा फोन ल्याउन पाइन्छ ?

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट एउटा व्यक्तिले एउटा मात्र नयाँ फोन ल्याउन पाउने प्रावधान रहेको भन्सार विभागका प्रवक्ता पुण्यप्रसाद खड्काले बताए । त्यसबाहेक अन्य फोनका लागि भने भन्सार तिर्नुपर्ने हुन्छ ।

यसको अर्थ यदि तपाईँले नेपालबाट जाँदा सँगै लगेको एउटा फोन र फर्किँदा साथमा अर्को नयाँ फोन ल्याउनु भएको छ भने त्यसको पनि भन्सार तिर्नु पर्दैन । भन्सार घोषणा गरिसकेपछि प्राप्त प्रज्ञापन पत्रको आधारमा उक्त फोन एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिन्छ । 

३) विदेशमा प्रयोग गरिरहेका दुई ओटा फोन नेपाल ल्याउँदा त्यसको भन्सार तिर्नुपर्छ ?

यदि लामो समय विदेशमा बस्नु भएको छ र साथमा उतै खरिद गरेका दुई ओटा फोन छन् भने तपाईँले निःशुल्क रूपमा एउटा फोन मात्र नेपाल ल्याउन पाउनु हुन्छ । साथमा रहेको अर्को फोन नेपालमा चलाउने हो भने त्यसका लागि भन्सार र अन्तःशुल्क दुवै तिरेर प्रज्ञापन पत्र लिनुपर्ने हुन्छ ।

४) विदेशबाट दुई वा दुई भन्दा बढी नयाँ फोन ल्याउँदा भन्सार कति लाग्छ ?

भन्सार विभागका प्रवक्ता खड्काका अनुसार यदि तपाईँ विदेशबाट फर्किँदा साथमा नयाँ फोन ल्याउँदै हुनुहुन्छ भने त्यसको बिल ल्याउन नबिर्सिनु होला । नेपालको एमडीएमएसमा दर्ता नभएका दुई वा दुई भन्दा बढी मोबाइल तपाईँको साथमा छन् भने एउटा मोबाइल निःशुल्क र बाँकी मोबाइलका लागि शुल्क तिरेर प्रज्ञापन पत्र लिनु पर्ने हुन्छ ।

सोही आधारमा एमडीएमएसमा दर्ता गरेपछि मात्रै तपाईँको मोबाइल नेपालमा प्रयोग गर्न सकिनेछ । भन्सार विभागले स्मार्टफोनका लागि पाँच प्रतिशत अन्त शुल्क र १३ प्रतिशत भ्याट तथा बार फोनका लागि साढे दुई प्रतिशत अन्त शुल्क र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेको छ ।

पछिल्लो अध्यावधिक: पुस १२, २०७९ १७:२३