तपाईंको फोनमा रहेका स्मार्ट फिचरहरुमध्ये ईमर्जेन्सी कन्ट्याक्ट र मेडिकल आईडी थाहा पाइराख्न एकदमै जरुरी छ । सबैजसो स्मार्टफोनमा हुने यी फिचर बारे धेरैलाई थाहा हुँदैन । थाहा भए पनि खासै वास्ता गरेका हुँदैनन् । यदि तपाईं कुनै कारणले दुर्घटनामा पर्नु भयो वा डरलाग्दो गरी अप्ठ्यारोमा पर्नुभयो भने यसले तपाईंको जीवन रक्षा गर्न सक्छ ।
खासगरी आफू असहाय महसुस हुने गरी समस्यामा पर्दा यो फिचर निकै काम आउन सक्छ । यसमा आफ्नो इमर्जेन्सी सम्पर्क नम्बर र मेडिकल जानकारी राख्न बढीमा १० मिनेट जति लाग्छ । झञ्जट नमानी यत्ति काम गर्नु भयो भने तपाईंको फोन नै आपतमा तपाईंको जीवन रक्षा गर्ने साथी बन्न सक्छ ।
आईफोनमा यसरी राख्नुहोस्, मेडिकल आईडी
आईफोनमा भएको मेडिकल आईडी फिचरमा सुरुमा तपाईंलाई ईमर्जेन्सी अवस्थामा फेला पार्ने मान्छेले पहुँच पाउँछ । तपाईंको आईडीमा तपाईंको कुनै पनि स्वास्थ्य अवस्था, औषधीले निम्त्याउने एलर्जी र इमर्जेन्सी सम्पर्क नम्बरहरु राख्न सकिन्छ । यहाँ उल्लेख गरिएको तरिका अपनाएर आईफोनमा तपाईं आफ्नो मेडिकल आईडी बनाउन सक्नुहुन्छ ।
सुरुमा हेल्थ एप खोल्नुहोस् र माथि सिरानीको दायाँ कुनामा रहेको योर प्रोफाइल फोटोमा दबाउनुहोस् ।
मेडिकल डिटेल भित्र रहेको मेडिकल आईडीलाई छनौट गर्नुहोस् र इडिट गर्नुहोस् ।
ईमर्जेन्सीमा सघाउने व्यक्तिले थाहा पाउन जरुरी सूचनाहरु त्यसमा भर्दै जानुहोस् ।
अनि सो ह्वेन लक्डलाई टर्न अन राख्नुहोस् ।
एक पटक तपाईंले आफ्नो सूचनाहरु भरिसकेपछि डनमा ट्याप गर्नुहोस् ।
आफ्नो मेडिकल आईडी हेर्न तथा यो कस्तो देखिन्छ भनेर थाहा पाउन अनि अरु कसैले मेडिकल आईडीमा कसरी पहुँच पाउन सक्छ भन्ने कुरा जान्नका लागि आईफोनलाई अनलक गर्न माथितर्फ स्वाइप गर्नुहोस् । एक पटक आफ्नो पासकोड राख्ने कोसिस गर्नुहोस् । त्यहाँ तपाईंले स्क्रिनको तल्लो भागमा ईमर्जेन्सी लेखिएको देख्नुहुनेछ । त्यसमा ट्याप गर्नुभयो भने आफ्नो मेडिकल आईडी देख्न सक्नुहुनेछ ।
एन्ड्रोइड फोनमा ईमर्जेन्सी विवरण राख्न यसो गर्नुहोस्
एन्ड्रोइडमा यो प्रक्रिया फोनको ब्राण्ड अनुसार फरक हुनसक्छ । सामान्यतया तपाईंले सेटिङ एप खोल्न सक्नुहुन्छ । अथवा स्क्रिनको सिरानीमा रहेको सर्चबारमा Emergency information लेखेर सर्च गर्नुहोस् । त्यसमा रहेको एउटा परिणामले तपाईंलाई सेटिङको उपयुक्त स्थानमा पुर्याउनेछ ।
सामसङ प्रयोगकर्ताले फोन एप खोलेर कन्ट्याक्ट ट्याबमा गएर माई प्रोफाइल भित्रको अन्तिममा जानुपर्ने हुन्छ । त्यहाँ रहेको ईमर्जेन्सी इन्फरमेशन सेक्सनमा आफूले सेयर गर्न चाहेको मेडिकल र ईमर्जेन्सी सूचनाहरु राख्नुहोस् । यति गरेपछि तपाईंको मेडिकल आईडी तथा ईमपर्जेन्सी कन्ट्याक्ट तयार हुन्छ ।
अरुले तपाईंको फोन हेर्दा कस्तो देखिन्छ भनेर हेर्न वा अरु कसैको फोनमा मेडिकल सूचना हेर्ने अभ्यासको रुपमा पावर बटन दबाएर वा स्क्रिनमा ट्याप गरेर फोन अनलक गर्ने कोसिस गर्नुहोस् । पासवर्ड राख्ने स्थानमा पुगेपछि त्यहाँ रहेको ईमर्जेन्सी वा ईमर्जेन्सी कल मा जानुहाेस् । भित्र गइसकेपछि तपाईंले मेडिकल सूचना देख्न सक्नुहुनेछ ।