एजेन्सी । भारत सरकारले क्वान्टम कम्प्युटरको अनुसन्धानमा ८ हजार करोड भारु अर्थात १ खर्ब २८ अर्ब नेपाली रुपैयाँ खर्च गर्ने भएको छ । भारतकी वित्तमन्त्री निर्मला सितारमनले नेशनल मिसन अप क्वान्टम टेक्नोलोजि एण्ड एप्लिकेशन प्रोजेक्ट अन्तरगत प्रविधिको अनुसन्धानका लागि आगामी पाँच वर्षमा उक्त रकम खर्च गरिने बताइन् ।
सन् २०१६ मा युरोपियन कमिसनले क्वान्टम कम्प्युटिक परियोजनाका लागि १ अर्ब यूरो दिएको थियो भने २०१८ मा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले १ अर्ब २ करोड डलर यस क्षेत्रमा लगानी गर्ने वाचा सहित विधेयमा हस्ताक्षर गरेका थिए ।
यसैगरी चीनले समेत यस अघि नै क्वान्टम अनुसन्धानका लागि २ अर्ब अमेरिकी डलरको प्रतिवद्धता जनाइसकेको छ । त्यसबाहेक जापान, जर्मनी, क्यानडा लगायतका देशले समेत क्वान्टम कम्प्युटिङ कार्यक्रमलाई बढावा दिन विभिन्न स्किमहरु अगाडि बढाइसकेका छन् ।
यस क्षेत्रमा पछिल्लो पटक प्रवेश गरेको भारतसँग नयाँ प्रविधिको क्षेत्रमा काम गर्न एकदमै थोरै परियोजना मात्रै रहेका छन् । गत वर्ष मात्र भारतको विज्ञान तथा प्रविधि विभागले ८० करोड रुपैयाँ भारु बजेटमा क्वान्टम इनेबल साइन्स एण्ड टेक्नोलोजी परियोजनाका लागि हैदरावादमा छुट्टै संस्था खडा गरेको थियो ।
आईबीएम र गुगल जस्ता निजी कम्पनीहरु क्वान्टम कम्प्युटिङमा आफ्नो वर्चश्वको लडाई यस अघि देखि नै लडिरहेका छन् । परम्परागत कम्प्युटरले नसक्ने समस्याको समाधानका लागि क्वान्टम कम्प्युटरकोव अवधारणा विकास भएको हो । अर्को तर्फ अमेजन र माइक्रोसफ्टले यस अघि देखि नै क्वान्टम कम्प्युटिङका लागि क्लाउड सर्भिसको अफर गरिरहेका छन् ।
आईबीएमका नव नियुक्त सीईओ अरविन्द कृष्णले गत वर्ष एक अन्तरवार्तामा भारतले यस क्षेत्रमा लगानी नगरेका कारण प्रविधिको क्षेत्रमा पछिपर्ने भनेका थिए । भारतले आईबीएम तथा गुगल जस्ता कम्पनीसँग साझेदारी गरी उनीहरुको विज्ञता प्रयोग गर्न सक्ने समेत बताइएको छ ।