close

इन्टरनेटमा कोरोना भाइरस सम्बन्धि गलत सूचना ‘ब्लक’ गरिँदै

टेकपाना टेकपाना

चैत ९, २०७६ १३:२१

इन्टरनेटमा कोरोना भाइरस सम्बन्धि गलत सूचना ‘ब्लक’ गरिँदै

काठमाडौं । अत्यावश्यक सेवाको रुपमा रहेको सञ्चार पुर्वाधार तम्तयार राख्न अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले निर्देशन दिएका छन् । आइतबार नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई मन्त्रालयमा बोलाएर मन्त्री खतिवडाले यो समयमा टेलिफोन तथा इन्टरनेटको खपत बढ्ने भएकाले त्यसलाई धान्न सक्ने गरी पूर्वाधार तयार राख्न सेवा प्रदायकलाई निर्देशन दिन लगाएका हुन् ।

‘भोलि जस्तो सुकै परिस्थिति सिर्जना हुन सक्छ’, मन्त्री खतिवडालाई उदृत गर्दै खनालले भने, ‘त्यसअनुसारको पूर्वाधारका लागि तयार भएर बस्न सेवा प्रदायकलाई निर्देशन दिनु । सामाजिक सञ्जालमा अफवाह फैलाउने धेरै हुन्छन् । त्यस्तो कन्टेन्टलाई तुरन्तै कसरी रोक्न सकिन्छ, त्यसमा पनि काम गर्नु । यस्तो समयमा गलत सूचनाले त्रास सिर्जना गर्ने भएकाले सही जानकारी मात्रै जनताले पाउनु पर्नेमा जोड दिनु भएको छ । त्यसका लागि प्राधिकरणले कदम चाल्नु पर्ने भन्दै मन्त्रीबाट निर्देशन आएको छ ।’

मन्त्री खतिवडाको निर्देशनसँगै अब प्राधिरकणले पनि सेवा प्रदायकलाई नेटवर्क तम्तयार राख्न तथा यदि कुनै किसिमको समस्या आएर तत्कालै समाधान गर्न सक्ने गरी तयार भएर बस्न निर्देशन दिने भएको छ । त्यतिमात्रै नभएर सेवाग्राहीलाई पनि सेवाको प्रयोग कम भन्दा कम गर्न आग्रह गर्ने तयारी समेत छ ।

‘यहाँ त छँदै छ, विदेशबाट समेत नेपाल फर्किएर आएका छन्’, अध्यक्ष खनालले भने, ‘विदेशका विश्वविद्यालयदेखी सबैकार्य अनलाइनबाटै सञ्चालन भइरहेको छ । त्यसैले पनि अनलाइनबाटै सेवा लिनेको संख्या बढेको छ ।

पछिल्लो समय इन्टरनेट खपत ३० प्रतिशतले बढेको सेवाप्रदायकले जनाएका छन् । यस्तो अवस्थामा सेवाग्राहीले पनि अत्यावश्यक काममा मात्रै इन्टरनेट सेवाको सदुपयोग गर्नुपर्ने अवस्था छ । त्यसैले प्राधिरकणले सूचना जारी गरी सबैलाई आग्रह गर्ने अध्यक्ष खनालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६