close

श्रृङ्खलावद्ध साइबर हमला जारी, पछिल्लो निशानामा प्रभु मनी ट्रान्सफर

टेकपाना टेकपाना

चैत २८, २०७६ २३:४

श्रृङ्खलावद्ध साइबर हमला जारी, पछिल्लो निशानामा प्रभु मनी ट्रान्सफर

काठमाडौं । प्रभु मनी ट्रान्सफरमा साइबर हमला भएको छ । खाना तथा खाजाको अनलाइन डेलिभरी सेवा दिँदै आएको फूडमाण्डु, इन्टरनेट सेवाप्रदायक भायनेट पछि प्रभु मनी ट्रान्सफर ह्याकरको निशानामा परेको हो ।

शुक्रबार दिउँसो साइबर आक्रमणको धम्की दिएको ह्याकरले निर्धारित समय अर्थात बेलुका आठ बजे चेतावनीको रुपमा भन्दै ४१० जना प्रयोगकर्ताको नाम, ईमेल ठेगाना, आईपी एड्रेस र मोबाइल नम्बर सार्वजनिक गरेको छ । उक्त जानकारी प्रभु मनी ट्रान्सफरको हुन् सक्ने आकलन गर्न सकिन्छ । किन भने, प्रभु मनी ट्रान्सफरको ट्वीटर ह्याण्डललाई मेन्सन गर्दै ह्याकरले बैंकिङ तथा अन्य सिस्टममा सुरक्षा कमजोरी रहेको भन्दै दिउँसो चेतावनी दिएको थियो ।

‘हामीले सचेत गराउने कोशिस गरेका थियौँ, तर तिमीले कुनै प्रतिक्रिया दिएनौं,’ सतान नामक ट्वीटर ह्याण्डलबाट ह्याकरले प्रभु मनी ट्रान्सफरलाई धम्की दिँदै भनेको थियो, ‘भायनेटले डाटा चोरीको सामना गर्‍यो, तिमी दोस्रो हुनसक्छौ । यदी सुरक्षा कमजोरी सुधार गरेनौ भने बेलुकी ८ बजे तिमीलाई सानो डेमो देखाउने छौँ ।’

साइबर हमलाकारीले प्रभु मनी ट्रान्सफरका प्रयोगकर्ताको डाटा भन्दै लिक गरेको केही समयपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई चेतावनी दिएको छ । उसले सहयोग तथा अन्य विवरण सुरक्षित गर्न अन्यथा यसैगरी डाटा लिक गरिदिने उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४