close

बजेटबाटै साइबर सुरक्षालाई प्राथामिकता, डिजिटल फ्रेमवर्कको एकीकृत कार्यन्वयन गरिने

टेकपाना टेकपाना

बैशाख २८, २०७७ १२:५३

बजेटबाटै साइबर सुरक्षालाई प्राथामिकता, डिजिटल फ्रेमवर्कको एकीकृत कार्यन्वयन गरिने

काठमाडौं । सरकारले साइबर सुरक्षालाई विशेष प्राथामिकता दिने भएको छ । संसदमा जारी प्री बजेट छलफलका क्रममा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–२०७८ को बजेटमा साइबर सुरक्षा एउटा प्राथामिकताको विषय हुने उल्लेख गरेका हुन् ।

पछिल्लो समय साइबर सुरक्षाको विषय चर्चामा रहेको छ । डेटा चोरी हुने घटनाहरु बढिरहेका छन् । त्यसैलाई मध्यनजर गर्दै सरकारले साइबर सुरक्षालाई बजेटमार्फत नै सम्बोधन गर्ने तयारी गरेको हो ।

यसका साथै लामो समय देखि कार्यन्वयनमा आउन नसकेको डिजिटल नेपाल फ्रेमवर्कले पनि आगामी वर्षको बजेटमा प्रथामिकता पाउने छ । सन् २०१८ अगस्ट ३ तारिकमा होटल सोल्टीमा आयोजित एक कार्यक्रम मार्फत सार्वजनिक उक्त फ्रेमवर्क हालसम्म कार्यन्वयनमा आउन भने सकेको छैन ।

लामो समयसम्म मन्त्रालय र मन्त्रिपरिषदमा अड्किएर बसेको उक्त फ्रेमवर्क एक वर्षपछि गएको कात्तिकमा मन्त्रपरिषदबाट स्वीकृत भएको थियो । ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रको आधारको रुपमा डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्ने, आम नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ उक्त फ्रेमवर्क तयार पारिएको हो ।

तर, कार्यन्वयनमा आउन नसक्दा त्यसले कुनै सार्थकता प्रस्तुत गर्न भने सकेको छैन । त्यसैलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेटमा प्राथामिकतामा पारिएको मन्त्री खतिवडाले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१