close

रंगभेद विरुद्ध एप्पलको १० करोड डलर सहयोग

टेकपाना टेकपाना

जेठ ३१, २०७७ १५:३५

रंगभेद विरुद्ध एप्पलको १० करोड डलर सहयोग

एजेन्सी । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरीले हत्या गरेपछि अहिले आन्दोलन चर्किएको छ । उक्त आन्दोलनको समर्थनमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले जातीय समानता र न्यायीक पहलमा आफ्नो पनि साथ रहने जनाएका छन् ।

उनले रंगभेद अन्त्यका लागि भइरहेको लडाईमा एप्पलको नयाँ प्रतिवद्धता समेत घोषणा गरेका छन् । जसअन्तर्गत पहिलो चरणमा कम्पनीले १० करोड डलर सहयोग उपलब्ध गराउने छ।

आगामी दिनमा समेत यस किसिमको सहयोग उपलब्ध गराउँदै जाने कम्पनीले उल्लेख गरेको छ । कुकले जातीय समानता र न्याय अभियानमा एप्पलको प्रयास बारेमा भिडियो समेत सार्वजनिक गरेका छन् ।

उक्त भिडियो सन्देशमा उनले भनेका छन्, ‘यो विश्वव्यापी समस्या हो । यो दश करोड डलरको सहयोग अमेरिकामा देखिएको समस्या समाधानको क्षेत्रमा प्रयोग हुनेछ । विस्तारै यसलाई विश्वव्यापिकरण गरिनेछ ।’

उनले अहिलेको अवस्थामा सबैको सहयोग र सहकार्यले मात्रै समस्या समाधान हुने बताउँदै यो समयमा सबै उठ्नुपर्ने र परिवर्तनको लागि लाग्नुपर्ने उल्लेख गरेका छन् ।

एप्पलको सहयोग विशेष गरी अश्वेत नागरिकलाई उपलब्ध हुने उनले बताएका छन् । आगामी दिनमा कम्पनीले विभिन्न संस्थाहरुसँग मिलेर पहुँच बिहीन मानिस र समुदायका लागि काम गर्दै जाने समेत उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०