close

अब हाम्रोपात्रोबाटै टेलिकम, एनसेल र स्मार्टको रिचार्ज

टेकपाना टेकपाना

जेठ ३१, २०७७ ११:५९

अब हाम्रोपात्रोबाटै टेलिकम, एनसेल र स्मार्टको रिचार्ज

काठमाडौं । चर्चित हाम्रो पात्रो एपबाटै अब टेलिकम, एनसेल र स्मार्ट टेलिकमको रिचार्ज गर्न सकिने भएको छ । हाम्रोपात्रोले इन्टरनेसनल पेमेन्ट गेट-वे प्रयोग गरी शनिबारदेखि यस्तो सेवा सञ्चालनमा ल्याएको हो ।  

यसबाट हाल अमेरिकामा रहेकाहरुले मास्टरकार्ड, भिजा, अमेरिकन एक्सप्रेस र युनियन पे जस्ता डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट नेपाली टेलिफोन तथा मोबाइल नम्बरहरुमा रिचार्ज पठाउन सक्नेछन् ।

टेकपानासँगको कुराकानीमा कम्पनीका संस्थापक शंकर उप्रेतीले खास गरेर विदेशमा भएका नेपालीहरुलाई लक्षित गरी यस्तो सेवा सुरु गरिएको बताए ।

‘अहिलेलाई हामीले परीक्षणको रुपमा अमेरिकाबाट नेपालमा रहेका आफ्ना आफन्त तथा साथीभाइलाई रिचार्ज पठाउन सकिने गरी सेवाको थालनी गरेका छौं,’ उनले भने, ‘अब निकट भविष्यमै अस्ट्रेलिया र जापान लगायतका देशबाट समेत यस्तो सेवा सुरु गर्ने योजना छ ।’

यसरी नेपाल रिचार्ज पठाउँदा लाग्ने शूल्क भने इन्टरनेसनल गेट-वे ले नै निर्धारण  गर्नेछ । टपअप तथा भुक्तानी दुवै तर्फका लागि एउटै गेट-वे प्रयोग गरिएको छ ।

यसको अर्थ विदेशमा रहेका कार्ड सर्भिस प्रोभाइडर र नेपालका दूरसञ्चार कम्पनीसँग यो सेवाका लागि हाम्रोपात्रोको सोझो सहकार्य भने भएको छैन । 

भविष्यमा पे-पाल लगायतका माध्यमबाट समेत नेपालको भुक्तानी गर्न सकिने संभावना रहेको उप्रेतीको भनाई छ । 

यो सेवा कसरी प्रयोग गर्ने ?

  • नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको रिचार्ज गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
  • अब त्यहाँ आफूले रिचार्ज पठाउन चाहेको मोबाइल नम्बर राख्नुहोस् ।
  • रिचार्ज गर्न चाहेको रकम छान्नुहोस् ।
  • अब रिचार्ज प्रक्रियालाई अगाडि बढाउन तपाईंको फेसबुक वा जीमेल अकाउण्ट लगईन गर्नुहोस् ।
  • एकपटक पुनः आफ्नो अर्डर चेक गर्नुहोस् ।
  • अन्तिममा भिसा, मास्टरकार्ड, युनियन पे, अमेरिकन एक्सप्रेस मध्ये तपाईंसँग भएको कार्ड छनौंट गरी आवश्यक विवरण भर्नुहोस् र रिचार्ज पठाउन कन्फर्म गर्नुहोस् ।


पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०