काठमाडौं । नेपाल टेलिकमले असार ७ गतेसम्म आफ्ना सेवाहरुमा लाग्ने विलम्ब शूल्क मिनाहा गर्ने निर्णय गरेको छ । कोभिड–१९ को महामारीका कारण कायम लकडाउन अवधिमा सरकारी स्वामित्वको कम्पनीले प्रयोगकर्ताको सुविधालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको हो ।
टेलिकमका अनुसार असार ८ गतेपछि कम्पनीको सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महशुलमा भने नियमानुसार विलम्ब शूल्क लागु हुने जनाइएको छ । यसैगरी जीएसएम मोबाइल डेटा सेवा र सीडीएमए मोबाइल डेटा सेवाको आधारभूत दर (पे एज यु गो) मा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छूटलाई समेत निरन्तरता दिइने छैन ।
कम्पनीका अनुसार असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शूल्क लागु हुनेछ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवामा उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर भने कायमै रहने जनाएको छ ।