काठमाडौं । नेपाल टेलिकमको आफ्नो वार्षिकोत्सवको अवसर पारेर गत माघमा नयाँ वेवसाइट सार्वजनिक गरेको थियो । पुरानो वेबसाइटलाई परिमार्जित गर्दै थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाइएको नयाँ वेबसाइटमा कम्पनीले समय समयमा नयाँ नयाँ फिचरहरु थप गर्दै आएको छ ।
यसै सन्दर्भमा हामी आज तपाईंलाई नेपाल टेलिकमको वेबसाइटमा भएका विभिन्न सेवाको बारेमा जानकारी गराउँदै छौं ।
जब तपाईं नेपाल टेलिकमको वेबसाइट खोल्नु हुन्छ, होम पेजमा ‘सेल्फ केयर अकाउन्ट’ राखिएको देख्नुहुनेछ छ । जसको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।
सेल्फ केयर अकाउण्टमार्फत टेलिकमका विभिन्न सेवाको रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरीद गर्न सकिन्छ ।
यसैबाट आफन्त वा साथीभाईलाई प्याकेज गिफ्ट पठाउन पनि मिल्छ ।
त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध व्यालेन्सको जानकारी समेत यसैमा देखिन्छ ।
रिचार्ज कार्डमा भएको पिन नम्बर राखेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर वेबसाइटबाटै कम्पनीका विभिन्न सेवामा अनलाइन रिचार्ज गर्न सकिने सुविधा पनि छ।
नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाईसी फर्म वेबसाइटबाटै भर्न सकिन्छ ।
कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्ड एण्ड फ्याम्ली सेवा, नमस्ते क्रेडिट सेवा, मिसकल अलर्ट सेवा, डेटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवाको जानकारी पाइन्छ । साथै भ्याल्यू एडेड सर्भिस, फोरजी एलटीई सेवा, फाइबर टू द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुप जस्ता सेवाहरुको बारेको जानकारी पनि वेबसाइटमै छ ।
कम्पनीले उपलब्ध गराइएका पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्याण्डलाइन तथा अन्य विभिन्न सेवाहरुको बारेमा समेत जानकारी लिन सकिने सुविधा यसैमा छ ।
रिचार्ज कार्डमा ६ वटासम्म अंकहरु मेटिएको अवस्थामा समेत वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा छ।
कम्पनीका विविध गतिविधिहरुको जानकारीका लागि अन्यत्र जानै पर्दैन, प्रेस विज्ञप्ति र न्युजलेटर वेबसाइटमै फेला पार्न सकिन्छ ।
साथै कम्पनीले मासिक रुपमा प्रकाशन गर्ने एनटी न्युजलेटर वेबसाइटबाटै सब्स्क्राइब गर्न सकिन्छ ।
टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बरका लागि १९७ मा फोन गर्नै पर्दैन । सजिलै वेबसाइटमा गएर आफै खोज्न सकिन्छ ।
आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनैपनि सेवाको बारेमा सर्च गर्न सकिने सुविधा पनि वेबसाइटको होमपेजमै छ ।
होमपेज मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरुका बारेमा जानकारी लिन सकिने बनाइएको छ ।
विभिन्न डेटा प्याकेजको जानकारीदेखि आफूलाई आवश्यक डेटा प्याकेज रोजेर खरिद गर्न सकिने सुविधा पनि वेबसाइटमा छ । त्यसमा हाल लोकप्रिय रहेका डेटा प्याकेजहरुलाई क्रमशः रुपमा राखिएको छ । जसले गर्दा छनौटमा पनि सहजता मिल्नेछ ।
यसका साथै नेपाल टेलिकम मोबाइल एप बारेको जानकारी पनि कम्पनीको वेबसाइटमा उपलब्ध छ । मोबाइल एपको प्रयोग गरेर सहज रुपमा विभिन्न सुविधा लिन र प्रयोग गर्न सकिन्छ ।
साथै डाउनलोड सेक्सनबाट कम्पनीको प्रबन्धपत्रदेखि विभिन्न सेवाका फारामहरु, बोलपत्र आव्हान आदि प्राप्त गर्न सकिन्छ ।
कम्पनीको मोबाइल सेवा, ल्याण्डलाइन टेलिफोन सेवा, एफटीटीएच तथा एडीएसएल सेवाको बारेमा विविध जानकारी प्राप्त गर्न र सोधपुछ गर्न तथा गुनासाहरु दर्ता गराउनका लागि आवश्यक सर्टकोड पनि वेबसाइटमै देख्न सकिन्छ ।
यो जानकारी नेपाल टेलिकमले उपलब्ध गराएको प्रेस ब्रिफिङको आधारमा तयार पारिएको हो ।