गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको लागि विगतका दुई पटक जस्तै यसपटक पनि नेपालमै बनेको भोटिङ मेशिन प्रयोग हुने भयो भनेर हामी (टक्नोलाेजी सेल्सको टिम) दंग थियौं । यसपाली संघले हामीलाई प्रतिनिधि दर्ता गर्ने सफ्टवेयरको काम समेत दिएको थियो ।
नयाँ काममा रमाउने हामीले त्यस सफ्टवेयरमा झण्डै एक महिनाको समय वितायौं । त्यस सफ्टवेयरको प्रयोगले एक सातासम्म बैज्ञानिक किसिमबाटै प्रतिनिधि दर्ता गर्ने कार्य सम्पन्न गरेको थियो । आश्विन २९ गते मतदानको कार्यक्रम थियो ।
तर, मतदाता नामावलीदेखि नै ढिलो भयो । जसले गर्दा उम्मेद्वारको नामावली प्रकाशनमा समेत ढिलो भइरहेको थियो । बाहिर रहेका मतदाताको दवावले हामी लगायत हाम्रा प्राविधिक समूह अत्याधिक तनावमा थियाैं ।
त्यो भन्दा पनि तनाव तब भयो जब मेशिन तयार गर्दै गर्दा मेशिनको सोर्स कोड मागियो । एक पक्षले मेशिनको सोर्स कोड नदिए भोटिङ नै हुन नदिने भनी प्राविधिक टोली पठायो । मतदातको नामावली नआएर त्यसै तनावमा रहेको हाम्रो टोलिमाथि अर्को झन्झट थपियो । पहिल्यै ढिलो भइसकेको सेड्युलमा झण्डै १ घण्टा त्यसैमा वित्यो । उक्त प्राविधिक टोलीलाई सोर्स कोड दिन पनि हामी बाध्य भयौ ।
मेशिनमा प्राविधिक परीक्षण गरेर तयार पार्नको लागि समय चाहिन्छ भनेर हामीले सम्झौताकै बखतमा अन्तिम नामावलीको प्रमाणित प्रति न्युनतम आठ घण्टा ( जसमा नामावली चढाउने, परीक्षण गर्ने, १०० नमुना मतदान गर्ने लगायतका कामहरु गर्नुपर्ने हुन्छ ) अघि दिनुपर्ने भनी प्रष्टै लेखेका थियौं । तर हामीले तीन घण्टा पनि समय पाएनौ ।
यस निर्वाचनमा यत्तिका हतारमा काम गर्नु पर्ने वाध्यताले गर्दा न त निर्वाचन समितिबाट आधिकारिक नामावली पाउन सक्यौ, न त काम गर्ने समय पनि । उम्मेद्वारको नाम तस्विर राखीनसक्दै बाहिरको भीड थामिनसक्नु भयो । जसले गर्दा हामीले परीक्षण विनै मतदान शुरु गर्नु पर्ने बाध्यता भयो । हामीले मेशिनको बट्टामा नटसम्म कस्न भ्याएका थिएनौं ।
जब मतदान शुरु भयो, फोटो र नाममा समस्या आएकै हो । उक्त समस्यालाई हामीले तुरुन्तै समाधान गरी सोही ठाउँमा गरेको हो । हामीले विकाश गरी पचासौं निर्वाचन सम्पन्न गरेको भोटिङ मेशिनमा आजसम्म कुनै प्राविधिक खरावी आएको थिएन । हतारको कामले त्यहाँ केही समस्या आएता पनि हामीले समस्याको समाधान गरेर दिएका थियौं ।
यस घटनाले हामीलाई अझ अनुभवी बनाएको छ । बीस वर्षदेखि आफ्नो समाजको लागि यी र यस्ता प्रविधिको विकाशमा लागिरहेका हामी कतिपनि विचलित नभइकन काम गर्ने प्रण समेत गर्दछौ ।
राम प्रसाद रिमाल र लक्ष्मण प्रसाद रिमाल टक्नो सेल्स प्रालिका सञ्चालक तथा प्रविधि अनुसन्धानकर्ता हुन