काठमाडौं । डिजी स्कुलले निःशुल्क आईटी ब्रिज कोर्ष सुरु गरेको छ । कक्षा ११ र १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यो कोर्ष सञ्चालनमा ल्याइएको हो ।
निःशुल्क ब्रिज कोर्ष लिनका लागि विद्यार्थीहरुले डिजी स्कुलमा सम्पर्क गरी सहभागी हुन सक्ने डिजी स्कुलका अध्यक्ष विज्ञान श्रेष्ठले जानकारी दिए । विद्यार्थीले ब्रिज कोर्षको कक्षा अनलाइनबाटै लिन सक्नेछन् ।
दुई महिना अवधिमा सकिने ब्रिज कोर्षमा राम्रो पढ्ने १० जना विद्यार्थीले डिजी स्कुलको पार्टनर कलेज (सफ्ट्वेरिका कलेज र सनवे कलेज) मा ५० प्रतिशत छात्रवृत्ति पाउने बताइएको छ । त्यस्तै बाँकी विद्यार्थीले २० देखि ३० प्रतिशतसम्म स्कलरशिप पाउनेछन् ।
डिजी स्कुलले आफ्नो वेबसाइटमा आईटी ब्रिज कोर्षका भिडियोहरु बनाएर राखेको छ । विद्यार्थीले लग ईन गरी भिडियो अध्ययन गरी ईमेल मार्फत चौबिसै घण्टा आफूले नबुझेका प्रश्नहरु गर्न पाउनेछन् ।
यसैगरी सातामा एक दिन लाइभ कक्षाको व्यवस्था समेत गरिएको छ । आईटी कोर्षअन्तर्गत पाइथन, जाभा, एचटीएमएल, सिएसएस पढ्न पाउनेछन् ।
के हो डिजी स्कुल?
बेलायत सरकार मातहत दर्ता भएर विद्यालय र उच्च शिक्षा सम्बन्धि पठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको छ । सफ्ट्वेरिका कलेज र सन वे कलेजको रणनीतिक साझेदारीमा यो कोर्स नेपालमा भित्र्याइएको हो ।
एसईई सकेर कम्प्युटर सिक्न जाने प्रचलन रहेको नेपाली परिवेशमा ‘डिजी स्कुल’ पढ्ने विद्यार्थीले स्कुले समयमै जाभा, पाइथन, सिउडोकोड, स्क्र्याच, डेटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्डवेयर र मर्मत लगायतका विषय सिक्नेछ्न् । साथै आफै सफ्टवेयर निर्माण गर्ने दक्षता राख्ने छन् ।
‘डिजी स्कुल’ सञ्चालन गर्न चाहने कुनै पनि स्कुलले डिजी स्कुलसँग सम्पर्क गरी अध्यापन सुरु गर्न सक्छन् भने विद्यार्थीले घरैबाटै डिजी स्कुल ग्लोबल डटकममा लग ईन गरी आफैं पनि पढ्न सक्छन् ।
नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउन सकुन् भन्ने उद्देश्यका साथ डिजी स्कुल नेपालमा ल्याइएको हो । आईजीसीएसई (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरी एजुकेसन) ले समेत ‘डिजी प्रोग्राम’ लाई मान्यता दिएको छ।
सामयिक परिवर्तन सँगै विश्व ’डिजिटल वर्ल्ड’ मा प्रवेश गरिरहँदा नेपालमा पनि प्राविधिक क्रान्तिको जरुरी भएको सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । ‘२/३ दशक अगाडि अङ्ग्रेजी पढ्न बोर्डिङ स्कुलको लहर आयो,’ श्रेष्ठ थप्छन् ‘अब भने स्कुलदेखि नै प्राविधिक शिक्षाको लहर आउन जरुरी छ । यही कुराले हामीलाई ‘डिजी स्कुल’ सुरु गर्न हौस्याएको हो ।’