close

अब कोजेन्ट हेल्थको अनलाइनमै अस्पतालको ओपीडी टिकेट

टेकपाना टेकपाना

मंसिर २८, २०७७ १६:२२

अब कोजेन्ट हेल्थको अनलाइनमै अस्पतालको ओपीडी टिकेट

काठमाडौं । नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी कोजेन्ट हेल्थले भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवासँग सहकार्य गरेको छ । कम्पनीले अनलाइनमार्फत अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात गरेको हो ।

कोजेन्ट हेल्थले सुरू गरेको ई–अपोइन्टमेन्ट एउटा यस्तो प्लेटफर्म हो, जसमार्फत् बिरामी तथा अन्य सर्वसाधारणले ईसेवाको एपबाट आवद्ध स्वास्थ्य संस्थाका कुनै पनि डाक्टरहरूसँग ओपीडी परामर्शका लागि सहजै अपोइन्टमेन्ट बुक गराउन सक्छन् । यसका साथै ईसेवामार्फत शुल्क समेत भुक्तानी गर्न सकिन्छ ।

कोजेन्ट हेल्थका प्रबन्ध निर्देशक डेनियल डी श्रेष्ठले सेवा सुरुवातको घोषणा गर्दै स्वास्थ्य सूचना प्रविधि र डिजिटल वित्तीय प्रविधिलाई एकीकृत गर्दै यो प्रणाली बनाइएको बताए । उनले भने, ‘यो नवीनतम सेवाले नेपालमा दीगो डिजिटल ईकोसिस्टम निर्माण गर्ने दिशामा मद्दत पुर्‍याउने छ ।’

यो सेवाको सुरुवातले अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई उनीहरूको ओपीडी सेवाहरू सुलभ र व्यवस्थित बनाउन सहयोग पुर्‍याउने बताइएको छ । यसका साथै ईसेवाका ३५ लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता र यसका एजेन्ट साझेदारहरूले देशभर सेवा प्रदान गरिरहेका एक करोडभन्दा बढी प्रयोगकर्तामा यो सेवा विस्तार गर्ने काममा सहयोग गर्नेछ ।

अहिलेको कोभिड १९ महामारीले उत्पन्न विषम परिस्थितिमा जोखिम न्यूनीकरणका लागि आम जनताले आफ्नो घरबाटै सेवा लिन सक्नेछन् । कोजेन्टमार्फत अस्पताल र चिकित्सक पत्ता लगाई अपोइन्टमेन्ट बुक गर्न र लाइन बस्दा हुन सक्ने जोखिम र झन्झटबिना नै उपचार तथा परामर्श लिन सकिनेछ ।

हाल निदान अस्पताल, अन्नपूर्ण न्यूरो अस्पताल र बीपी कोइराला नेत्र विज्ञान केन्द्रजस्ता प्रतिष्ठित निजी स्वास्थ्य संस्था यो प्लेटफर्ममा आवद्ध भइसकेका छन् । यस्तै दर्जनौं अस्पताल तथा स्वास्थ्य संस्थामा यो सेवा सुरू हुने क्रममा रहेको बताइएको छ ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४