फोनेपे नेटवर्क आबद्ध भयो हिमालयन बैंक, २० लाख बढी मर्चेन्टमा क्यूआर भुक्तानी गर्न सकिने
बैशाख १२, २०८३ २२:३०
काठमाडौँ । हिमालयन बैंक लिमिटेड औपचारिक रूपमा फोनेपेको अन्तरसञ्चालनयोग्य क्यूआर भुक्तानी नेटवर्कमा आबद्ध भएको छ । यो आबद्धतापछि हिमालयन बैंकका ग्राहकले अब फोनेपेको सञ्जालमा रहेका देशभरका २० लाखभन्दा बढी मर्चेन्टहरूलाई सहजै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।
साझेदारीबारे बोल्दै फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले यस सहकार्यले नगदरहित नेपाल निर्माणको लक्ष्यलाई थप तीव्र बनाउने विश्वास व्यक्त गरे ।
त्यसैगरी, हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एसजेबी राणाले फोनेपे नेटवर्कमा जोडिनु बैंकको विरासतको स्वाभाविक विस्तार भएको र यसबाट ग्राहकले सुरक्षित एवं छिटो डिजिटल भुक्तानीको अनुभव लिन पाउने बताए ।
हाल यो साझेदारी प्राविधिक एकीकरणको चरणमा रहेको छ । यो प्रक्रिया सफलतापूर्वक सम्पन्न भएपछि हिमालयन बैंकका ग्राहकले देशभर फोनेपेको नेटवर्कभरि निर्बाध रूपमा कारोबार गर्न सक्ने बताइएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १२, २०८३ २२:३०
