close

अब सहकारी र माइक्रो फाइनान्सका प्रयोगकर्ताले समेत अनलाइन भुक्तानी गर्नसक्ने

टेकपाना टेकपाना

चैत १६, २०७७ २०:१

अब सहकारी र माइक्रो फाइनान्सका प्रयोगकर्ताले समेत अनलाइन भुक्तानी गर्नसक्ने

काठमाडौं । नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवा र सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको हो ।

सहकारी तथा माइक्रोफाइनान्सलाई समेत डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यका साथ दुई कम्पनीबीच सहकार्य भएको जनाइएको छ । सम्झौतापत्रमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे ।

त्यसक्रममा ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले अहिले पनि ९० प्रतिशतभन्दा धेरै रकम नगदमा कारोबार भइरहेको बताए । ‘यसलाई डिजिटल बनाउन सहकारी र माईक्रोफाइनान्सको ठूलो भूमिका रहेको छ,’ उनले भने, ‘यो सहकार्यले डिजिटल अर्थतन्त्र बनाउने अभियानमा ठूलो सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

यस्तै इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले ईसेवासँगको सहकार्यले सहकारी र माइक्रोफाइनान्सलाई डिजिटल भुक्तानीमा जोड्दा सदस्यहरुलाई सहज हुनुका साथै सहकारी र माइक्रोफाइनान्सको निक्षेप पनि बढ्ने बताए ।

उनले अगाडि भने, ‘यसले समग्र अर्थतन्त्रलाई पनि चलायमान बनाउनेछ ।’ सम्झौतासँगै इन्फोडेभलपर्सले निर्माण गरेका सफ्टवेयर प्रयोग गर्ने सहकारी तथा माइक्रो फाइनान्स डिजिटल भुक्तानीमा जोडिनेछन् ।

उनीहरुले कोर बैंकिङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा दिन सक्ने बताइएको छ । जसबाट सहकारी तथा माइक्रो फाइनान्सका सदस्यले यूटिलिटी बिल भुक्तानी, रेमिट्यान्स भुक्तानी, एउटा सहकारीको खाताबाट अर्को सहकारीको खातामा रकम ट्रान्स्फर, बैंकमा रकम ट्रान्सफर र क्यूआर स्क्यान गर्ने सुविधा पाउनेछन् ।

यो सम्झौतासँगै सहकारी तथा माइक्रोफाइनान्सका सदस्यले पनि बैंकका ग्राहकले जस्तै सबै सुविधा उपयोग गर्न पाउने बताइएको छ । कार्यक्रममा विभिन्न सहकारी तथा माइक्रोफाइनान्सका संचालक, व्यवस्थापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछाने, ईसेवा मनी ट्रान्स्फरका प्रमुख बिजनेस अधिकृत सागर खनाल र इन्फो डेभलपर्सका डेपुटी सीटीओ स्मरण दुवाडीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं, नेसनल माईक्रो फाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव, सुक्रपथ बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेका बिचमा डिजिटल भुक्तानीको महत्व शीर्षकमा छलफल भएको थियो ।

छलफलको सहजीकरण कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिस ताम्राकारले गरेका थिए । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ईसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ ।

यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् । हाल ईसेवाका देशभर करिब एक लाख भन्दा बढी एजेन्ट (इसेवा जोन तथा प्वाइन्ट) रहेका छन् ।

त्यस्तै ईसेवामा मर्चेन्टको संख्या एक लाख ८५ हजार नाघिसकेको छ । इन्फो डेभलपर्स सूचना प्रविधिको क्षेत्रमा क्रियाशील पुरानो कम्पनी हो ।

कम्पनीले विगत १७ वर्षदेखि सहकारी तथा माइक्रो फाइनान्सलाई आवश्यक पर्ने विभिन्न किसिमका सफ्टवेयर निर्माण गर्दै आइरहेको छ । कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बेंकिङ र ट्याब्लेट बैंकिङमार्फत अनलाइन र अफलाइन ब्रान्चलेस बैंकिङ सेवा र क्रेडिट युनियन, बैंक र माइक्रो फाइनान्सका लागि सोलुसन समेत प्रदान गर्दै आएको छ ।

कम्पनीले हालसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ५ भन्दा बढी अवार्ड प्राप्त गरिसकेको छ । इन्फोडेभलपर्स आईएसओ ९००१ः २०१५ सर्टिफाइड आईसीटी कम्पनी पनि हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३